शहिदलखनमा आजदेखि हाटबजार सञ्चालनमा आयाे

शनिबार, असाेज २, २०७८
0
718
हाट बजारमा तरकारी खरिद विक्री हुँदै ।

शहिद लखन गाउँपालिका वडा नम्बर २ स्थित रामशाहघाटमा रहेकाे हाटबजार काेराेना सङक्रमणकाे एक वर्ष पछि आज देखि सञ्चालनमा आएकाे छ  ।  गोरखा नगरपालिका १३ रामशाह टोलबाट मस्र्याङ्दी पुलजीप हुदै मनकामना जाने बाटोमा पर्ने नयाँपुलमा हाटबजार पुन सञ्चालन भएकाे हाे ।

यसअघिदेखि हाटबजार सञ्चालन गर्दै आएको नयाँ पुल कृषि उपज उपभोक्ता सहकारीको सहयोगमा उक्त हाटबजार खोल्न लागिएको सहकारीका सचिव रामकृष्ण अर्यालले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ८ महिना र यस आर्थिक वर्ष २०७८/०७९ मा ५ महिना गरी जम्मा १३ महिनादेखि उक्त हाटबजार लाग्न पाएको थिएन । जसले गर्दा किसानहरुको कृषि उपजले बजार पाउन समस्या भएको थियो ।

कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफुलहरु विक्रि वितरण गर्न नपाउदा धेरै नै घाटा पर्न गएको अर्यालले जानकारी दिए । ‘हप्ताको १ दिन हाट बजार खोल्ने र अरु दिन तरकारी तथा फलफुलहरु किसानहरुबाट ल्याएर संकलन केन्द्रमा राख्ने कार्यविधि बनाएका छौ’, अर्यालले भने ।

नेपाल सरकार तथा गाउँपालिकाबाट ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानीमा करिब रु ४० लाखको संकलन केन्द्र स्थापना गरिएको उनले बताए । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएकाे तरकारी यहाँकाे हाट बजारबाट विक्रि हुने गर्दछ । किसानबाट उपभाेक्ताले सिधै प्राप्त गर्ने हुनाले बजार मूल्य भन्दा सुलभ मूल्यमा उपभाेक्ता पाउने भएकाले मानिसहरु तरकारी खरिदका लागि हाट बजार पुग्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here