काठमाडाै । इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिन नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले देशभरको जनजीवन ठप्प बनेको छ । बन्द गराउन हिडेका नेकपाका दूइ दर्जन भन्दा धेरै नेता तथा कार्यकर्ताहरु प्रहरी खाेरमा पुगेका छन् ।
नेकपानिकट अनेमसंघ केन्द्रीय अध्यक्ष बन्दु चन्दका अनुसार काभ्रेबाट पार्टी केन्द्रीय सदस्य मोहनलाल चन्द ‘आधार’सहित ११ जना काभ्रेबाट गिरफ्तार परेका छन् । त्यस्तै महाराजगञ्जबाट युवा संगठनकी महासचिव विदुषीसहित २ जना र साँखुबाट दुई जना गरी पाँच जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको उनले मनासलु डटकमलाई बताइन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका ११ जना नेता कार्यकर्ता दमौलीबाट गिरफ्तार परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका सो पार्टीका ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो।
ट्राफिक चोकबाट तनहुँ जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत गिरफ्तार परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए।
गिरफ्तार परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे। बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ।
बन्दमा काठमाडौं उपत्यकाकासहित देशका मुख्य सहरहरुमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्द सफल पार्न सडकमा उत्रिएका नेकपाका नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड सुरु गरेको छ । देशका बिभिन्न ठाउँमा २ दर्जनबढी नेता कार्यकर्ता गिरफ्तार परेका छन् ।






