शहीदलखन गाउँपालिका गाेरखा र मनकामना दर्शन प्रा‍.लि. नक्साल वीच सम्झाैता

सोमवार, फाल्गुन ३०, २०७८
0
381

गाेरखा । व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदान गरिने सहयोग रकम सम्बन्धमा मनकामना दर्शन प्रा.लि,नक्साल काठमाडौँ र शहिद लखन गाउँपालिका, गोरखाबीच सम्झौता भएको छ ।

सम्झौता बमोजिम मनकामना दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम वडा नं २ र ३ (साविक मनकामना नमूना गाउँ विकास क्षेत्र) अन्तर्गत प्रभावित क्षेत्रहरुको विकास निर्माण तथा अन्य सहयोगको लागि खर्चिने गरी दर्शन प्रा.लि.ले आफ्नो केबुलकार सेवा आम्दानीको मु.अ.कर र अन्य कर बाहेक १ प्रतिशत रकम गाउँपालिलाई त्रैमासिक तवरले उपलब्ध गराउनेछ ।

मनकामना दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं. २ र ३ (साबिक मनकामना नमूना गाविस क्षेत्र) का प्रभावित क्षेत्रको विकास निर्माण कार्यका लागि दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत प्रदान गरिने सहयोग रकम वडा नं २ र ३ को समन्वयमा गाउँपालिका मार्फत सम्झौता अनुरुप उद्देश्य प्राप्तिको लागि विकास निर्माणका कार्य र मनकामना मन्दिर लगायत वडा नं. २ र ३ का धार्मिक क्षेत्रहरुको विकास निर्माण, संम्वर्द्धन, जिर्णोद्वार लगायतका भौतिक पूर्वाधार विकास कार्यका लागि खर्च गरिनेछ ।

सम्झौता बमोजिम शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं. २ र ३ (साबिक मनकामना नमूना गाविस क्षेत्र ) साथै वडा नं.१ को बक्रेश्वर र ल्होप्पा गाउँ, वडा नं ५ को तोरेन र पोखरी डाँडा गाउँका स्थानीय बासिन्दा र वडा नं २ र ३ का नागरिकका नातेदार (छोरी ज्वाईं र भान्जा तथा भान्जीलाई) मात्रलाई प्रक्रिया पूरा गरी प्रचलित साधारण भाडा दर (मुअ.कर, गाउँपालिका शुल्क र अन्य शुल्क सहितको शुल्क) मा ८० प्रतिशत छुट सहुलियत प्रदान गरिने छ भने वडा नं २ र ३ मा कार्यरत कर्मचारीहरु तथा वडा नं २ र ३ का विभिन्न व्यवसायमा कार्यरत श्रमिकहरुलाई ६५ प्रतिशत छुट दिई टिकट उपलब्ध गराउनेछ ।

साथै गाउँपालिका र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु र वडा नं २,३ तथा वडा १ र ५ को माथि उल्लिखित टोलहरु बाहेकका गाउँपालिकाका अन्य नागरिकहरुलाई २५ प्रतिशत छुट दिई टिकट उपलब्ध गराउने गरी सम्झौता सम्पन्न भएको छ ।साथै मनकामना दर्शन प्रा.लि. ले “प्रभावित क्षेत्र” का स्थानीय बासिन्दाले केबुलकारबाट यात्रा गर्दा लगेजको रूपमा ल्याएको २० के.जी. तौल सम्मको घरायसी सामानहरू निःशुल्क ढुवानीको व्यवस्था समेत गर्नेछ ।

सम्झौतामा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर र मनकामना दर्शन प्रा.लि.को तर्फबाट कार्यकारी सञ्चालक श्री राजु बाबु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

छलफल तथा सम्झौता कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँपालिकाकी उपाध्यक्ष श्री इन्दिरा तिवारी,प्रमुख प्रशासकीय अधिकृत श्री जीवन बहादुर आले मगर, वडा नं २ का वडाध्यक्ष श्री अचल बाबु थापा मगर,वडा नं ३ का वडाध्यक्ष श्री गणेश थापा, श्री मनोज जोशी(समाजसेवी),श्री प्रेम कुमार श्रेष्ठ(अध्यक्ष,मनकामना खा.पा.तथा सरसफाई उपभोक्ता समिति),श्री हरि श्रेष्ठ(अध्यक्ष,गोरखा उ.वा.सं मनकामना बजार इकाइ),श्री दिनेश जोशी(समाजसेवी),श्री टंक प्रसाद दुवाडी(समाजसेवी),श्री कृष्ण बाबु श्रेष्ठ(अध्यक्ष,साना किसान कृषि सहकारी,मनकामना) ,श्री नरेन्द्र बाबु श्रेष्ठ(अध्यक्ष,मनकामना मन्दिर जीर्णोद्वार समिति) र मनकामना दर्शन प्रा.लिको तर्फबाट श्री राजेश बाबु श्रेष्ठ(सञ्चालक), श्री उज्वल शेरचन(नायब महाप्रबन्धक-स्टेशन अपरेशन),श्री शशि श्रेष्ठ(प्रमुख-स्टेशन प्रशासन विभाग),श्री गणेश मानन्धर(सहायक म्यानेजर(कानून)) र श्री जीवन थापा मगर(जन सम्पर्क अधिकृत) को उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here