गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकाको ११ औ नगरसभा विहिबार सम्पन्न भएको छ । नगरप्रमुख विवश चिन्तनले आगामि वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न भएको हो । सभाले लिगलिगकाेटमा गन्धर्व सँग्रहालय निर्माण गर्ने निर्णय गरेकाे छ । पर्यटन विकास तर्फबाट लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गरिने, विभिन्न पर्यटकीय स्थानको पूर्वाधार निर्माण गरी होमस्टे, प्राचीन साँस्कृतिको अध्ययन केन्द्र मनोरन्जनात्मक वातावरणको बिकास गरिने कार्यक्रममा उल्लेख छ ।
३ वर्षभन्दा बढी बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप प्रतिरोपनीका दरले कार्यविधि बनाई अनुदान दिईने, वडा नं ६, ७ र ८ लाई लिची पकेट क्षेत्रको रुपमा विकास गर्ने र पशु चौपाया र पशुपंक्षी तथा फलफूल खेतीको वीमा प्रणाली यसै वर्षदेखि सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा पालुङटारलाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीकरण तर्फ उन्मुख गराउन कृषि सामाग्री खरिदमा अनुदानको ब्यबस्था गर्ने, पालुङटार वहुउदेश्यीय कृषि प्रवर्धन कार्यक्रम संचालनमा ल्याइने जनाएको छ ।
जलश्रोतको दीगोपनाका लागि सबै वडाहरुमा एक वार्ड एक पोखरी निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने जनाएको छ ।
विपदको अवस्थामा तत्काल उद्दार तथा सुरक्षित वासस्थानको पहिचान र ब्यबस्थापनको लागि बजेटको ब्यबस्था गरिने उनले बताए ।






