प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी

मङ्लबार, असार २१, २०७९
0
181

असार २१ , काठमाडौं । सरकारले हाल प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ ।

‘राजनीतिक रुपमा यस्तो बन्नुपर्छ भन्ने खाका आएपछि त्यसको प्रक्रियाका लागि हाम्रो टिम आज अबेरसम्म स्टयाण्डबाई बस्छ र भोलि विहान पनि तम्तयार रहन्छ’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवत भोलि नै नागरिकता विधेयक संसदमा पेश हुन्छ ।’

सरकारले २०७५ सालमा ल्याएको नागरिकतासम्बन्धी संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरी प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरिसकेको छ । तर नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि नागरिकता दिने भन्ने विवाद छ ।

यो विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताले सहमति जुटाएपछि अर्को संशोधन विधेयक मस्यौदा गर्ने तयारीमा कानुन मन्त्रालय छ । यद्यपि वैवाहिक अंगीकृतका विषयमा मौन रहेर संशोधन विधेयक आउन सक्ने पनि स्रोतको छ । त्यस अवस्थामा हाल नागरिकता ऐन २०६३ मा रहेको व्यवस्था नै कार्यान्वयन हुनेछ ।

‘यो संशोधन विधेयक हो, यो विधेयकमा लेखिएका कुरामात्रै संशोधन हुने हो । नलेखिएका विषयमा यसअघि जे प्रावधान थियो, त्यही नै यथावत रहन्छ’ कानुन मन्त्रालय स्रोतले भन्यो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here