आँवुखैरेनी, तनहुँ । आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा सामाजिक कुरीतिजन्य वाल विवाह विरुद्धमा गाउँपालिकाले आज सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा बालविवाह न्युनिकरणका लागि विद्यार्थी र अभिभावकहरुलाइ प्रशिक्षित गरिएकाे थियाे । पालिकामा विभिन्न कारणले विद्यालय उमेर समूहका बालबालिकाहरु कम उमेरमा नै विवाह गर्न थालेपछि पालिकाले सचेतना कार्यक्रम गर्न थालेकाे हाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अध्ययन गरेर आफू सक्षम भएसँगै राेजगारी प्राप्त गर्न सकिने र त्यसपछि गृहस्थी जीवन प्रवेश हुने बताए । आफ्ना बालबालिकाहरुकाे शिक्षाका बारेमा बाबुआमाले निरन्तर रेखदेख गरी छाेरछाेरीलाइ सक्षम बनाउन वातावरण बनाउनुपर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्र मुख्य रहेकाेले यस क्षेत्रकाे सुधारका लागि पालिकाकाे स्राेत साधनले भ्याएसम्म सहयाेग गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले पढ्ने उमेरमा अन्य क्षेत्रमा मन डुलाउन नहुने बताइन । शिक्षा आर्जनसँगै थुप्रै अवसरहरु प्राप्त हुने उनकाे भनाइ छ ।
दिनभरी चलेकाे उक्त कार्यक्रममा आँवुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवर, विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकाेटा लगायतले सहजिकरण गरेका थिए ।

विद्यालयका जग्गादाता डम्बर बहादुर खवासकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन कार्यक्रम सँयाेजक अस्मिता अधिकारीले गरेकी थिइन । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरु गरी दुइसय जना भन्दा धेरैकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा भाग लिएपछि आफूहरुलाइ वालविवाह गर्दा हुने बेफाइदाका बारेमा राम्राे ज्ञान पाएकाे सहभागि अनिता थापाले बताइन ।
पालिकाकाे कन्यादेवी माध्यमिक विद्यालयमा बाल विवाह न्युनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएकाे विद्यालयले जनाएकाे छ । आँवुखैरेनी गाउँपालिका राेजगार सँयाेजक कमला गैह्रे, भक्तराज रसाइली लगायतले सहजीकरण गरेकी थिइन । वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमा विद्यालयका विद्यार्थी अभिभावककाे सहभागिता रहेकाे थियाे ।






