पालुङ्टार । जिल्लाकाे पालुङटार नगरपालिका स्थित धर्मोदय मावि र मदनेडाँडा माविलाइ वीच बनाएर बग्ने खार खाेलामा ह्युम पाइप राखेपछि विद्यार्थीलाई विद्यालय जानआउन सहज भएको छ ।
जेठ १७ गते खाेलामा आएकाे बाढीले पुल बगाएपछि जाेखिम माेलेर तर्नुपर्ने बाध्यता थियो । ह्यूमपाईप राखेर अस्थायी रुपमा आउजाउ गर्ने बाटो निर्माण गरेपछि भेलमा तरेर स्कूल जानुपर्ने बाध्यता हटेको पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनले बताए ।
विद्यार्थीलाई धेरै समस्या भएपछि नगरपालिकाले तत्काल २५ एमएमको पाँचवटा ह्यूमपाईप राखेर आउजाउ गर्ने बाटो बनाएको उनकाे भनाइ छ ।
‘अहिले यो अस्थायी समाधान हो’, मेयर चिन्तनले भने, ‘दुबै विद्यालयका विद्यार्थीलाई सहज हुने गरी संघीय सरकारको सहयोगमा यहाँ छिट्टै पक्की पुल बन्नेछ ।’ पुल बनाउन धेरै लगानी लाग्ने भएकाले संघीय सरकारबाट योजना माग गरिएको चिन्तनले बताए । चिन्तन आफै निर्माणकाे काम सम्पन्न नहुँदा सम्म त्यस क्षेत्रमा खटिदै आएका थिए ।






