निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली माग गरेको छ । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेसँगै राजनीतिक दलहरुलाई पत्राचार गरेको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको उनको भनाइ छ । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ ।
समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो । दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगले जनाएको छ ।
आम निर्वाचनको मैझारो : यस्तो बन्यो संघ र प्रदेशको अंकगणित
यसैबीच निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नामावली मागेसँगै दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । नेकपा एमालेले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । यसैगरी नेपाली कांग्रेसले पनि केन्द्रीत कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अन्य दलहरु पनि समानुपातिक नामावली तयार गर्नका लागि छलफलमा जुटेको बताइएको छ ।
नयाँ सरकार गठनको हिसाबकिताब
निर्वाचनको अन्तिम परिणाम आएसँगै सत्ता गठबन्धनलाई संघमा नयाँ सरकार बनाउन २ सांसदको अभाव हुने देखिएको छ । गठबन्धन गरेर निर्वाचनमा गएका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधिसभामा १३६ सिट मात्र पुग्ने भएको हो । जबकि, २७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि कम्तीमा १३८ सिट चाहिन्छ ।
यी दलहरुले प्रत्यक्ष जितेका र समानुपातिकबाट आउने सांसद संख्या गणना गर्दा कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी १०, लोसपा ४ र जनमोर्चाको १ जोड्दा १३६ मात्र हुन्छ । यो हिसाबबाट सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन थप २ सांसद अपुग हुने देखिएको हो ।
तर, निर्वाचन परिणामपछि सीके राउतको जनमत पार्टी र प्रभु साहसहित उनीपक्षीय अर्का एक स्वतन्त्र सांसद समेत गठबन्धनसँग नजिकिएका छन् । जसले गर्दा सत्तारुढ गठबन्धनलाई बहुमत जुटाउन पर्याप्त विकल्प देखिन्छ ।
यस्तै प्रदेशतर्फपनि चार वटा प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत नदेखिएको तथा एमाले पनि सरकार बनाउने कसरतमा देखिएकाले दलहरुले आन्तरिक छलफललाई तीव्रता दिएको दिएका छन् ।
छलफलमा माओवादीका युवा नेता
चुनावी परिणाम लगत्तै नेकपा माओवादी केन्द्रका युवा नेताहरूले पार्टीका कमीकमजोरी खोतल्न थालेका छन् । हरेक निर्वाचनमा एकपछि अर्को गर्दै पार्टी खुम्चिँदै जान थालेपछि युवा नेताहरूले आफ्नै पहलमा छलफल अघि बढाएका हुन् ।
पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू छलफलमा जुटेका हुन् । पार्टीको भविष्यलाई लिएर युवा नेताहरूले चिन्ता व्यक्त गर्दै बहस र छलफललाई अघि बढाएको नेता डीपी ढकालले जानकारी दिए ।






