गोरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १२ स्थित जग्गा प्लटिङमा एक जना महिलाको शव फेला परेको छ । गोरखा नगरपालिका–१२ रत्नेटार घर भएकी ३० बर्षिय बिमला कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
घरबाट झण्डै एक किलोमिटर टाढा कुमालको शव भेटिएको उनले बताए । स्थानीयबासीहरुले केराघारीमा महिलाको शव भेटिएको भन्ने बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको उनले बताए ।
दिउँसो करिब १ बजेको समयमा स्थानीयबासीहरुले महिलाको भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा शवको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको डिएसपी लामिछानेले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । मृतक महिलाले घरकाे जग हाल्ने दिन जुराएकाे दिन उनकाे मृत्यु भएकाे स्थानीयहरुकाे भनाइ छ ।






