गाेरखा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गोरखाका डा.कृष्ण देवकोटा नियुक्त भएका छन्।
नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले गोरखा पालुङटार–३ का देवकोटलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।
उनले दक्षिण कोरियाबाट भू–विज्ञानमा विद्यावारिधी गरेका छन्। उनी विपत व्यवस्थापनका बारेमा विज्ञता राख्दछन् ।
गण्डकी सरकार बजेट निर्माणको तयारीमा जुटेको छ। ४१ वर्षीय देवकोटाको काँधमा आउँदो बजेट निर्माण र योजना बनाउने दायित्व आइलागेको छ।
यसअघि एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारले योजना आयोगको जिम्मेवारी डा गिरीधारी शर्मालाई सुम्पेको थियो।
उनी गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा पनि योजना आयोगको उपाध्यक्ष थिए।
उनको बर्हिगमनपछि कांग्रेसका कृष्णचन्द्र नेपाली सरकारले चाहीँ तनहुँका डा.रघुनाथ वाग्लेलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो। वाग्लेकाे कार्यकाल सकिएसँगै देवकाेटा नियुक्त भएका हुन् ।






