गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।
जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृति सभालाई सम्बोधन गर्न गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँप पिपलमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उनले भने, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छौँ ।”
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए ।
प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनेतर्फ सरकार लागिरहेको बताए । उनले सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुने उल्लेख गरे ।
विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहनुभएका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साबिकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनुभएका नेता वाग्ले माओवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत भएका थिए ।
सत्र वर्ष शिक्षण सेवामा बिताएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिएका थिए । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिनुभएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको थिए । बाग्ले जनयुद्धका क्रममा सहादत हुने पार्टीको सबैभन्दा उच्च तहको नेता हुन् ।






