गोरखा, २३ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । उनले उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र सम्बृद्धिको दिशामा अघि बढीरहेको बताए ।
‘गण्डकी प्रदेश भित्रका सवै क्षेत्रमा समानुपातिक ढंगबाट विकास अगाडी बढाउन सकियोस भन्ने प्रदेश सरकारको चाहाना रहेको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसका लागि आर्थिक सम्बृद्धिको नयाँ सम्भावना खोल्न सकियोस भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।’
नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टी र आक्रोस देखिएको भन्दै त्यसलाई सवै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । ‘समाजमा देखिएका असन्ुतष्टी र आक्रोसलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता पनि छ, उनले भने,‘ हाम्रा सिमित स्रोत र साधनहरुलाई अधिकतम प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ त्यसतर्फ हामी सवैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।’
‘गण्डकी प्रदेश सरकार पत्रकार जगतको विकासका लागि पत्रकारिता क्षेत्रसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ, उनले भने, ‘पत्रकारिता जगतको तर्फबाट पनि प्रदेश सरकारले सकारात्मक सहयोग र सुझावको अपेक्षा गरिरहेको छ ।’ उनले गण्डकी प्रदेशलाई सवैको नमुना प्रदेश बनाउनका लागि पत्रकारिता क्षेत्रले पनि नयाँबाटोहरु देखाउन अनुरोध गरे ।
मुख्यमन्त्री पाण्डेले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि बजेट विनियोजन गरेको बताए । पत्रकार महासंघ लगायत पत्रकारसंग सम्बन्धित संघसंस्थाहरुसंग छलफल गरेर गण्डकी प्रदेशको आमसञ्चार विद्येयक संसदमा दर्ता गराएको भन्दै उनले त्यसले स्वच्छ र मर्यादित पत्रकारिताको विकास र स्वतन्त्रताका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश र यसका जिल्लामा रहेका पत्रकार महासँघका शाखाहरु नमुनाको रुपमा रहेको बताए ।
महासँघका गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लामा भवन निर्माण काम सुरु भएको र पहिलो चरणमा गोरखाले निर्माण सम्पन्न गरेको बताए ।