मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा श्रेष्ठ नियुक्त

बुधबार, साउन ९, २०८१
0
174

गोरखा ९ साउन । गण्डकी प्रदेश सरकारले गोरखाको मनकामना मन्दिर क्षेत्र विकास समिति अध्यक्षमा काजीबाबु श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश सरकारको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
शहिद लखन गाउँपालिका ३ का काजीबाबु श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले समाधानलाई बताउनुभयो । समितिमा सहिद लखन गाउँपालिकाका अध्यक्ष, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख पदेन सदस्य हुनेछन् ।

मूल पुजारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गण्डकीको अर्थ मन्त्रालयका राजस्व हेर्ने प्रतिनिधि, उद्योग वाणिज्य संघ मनकामना इकाईका प्रमुख, गुठी व्यवस्थापन समितिका अध्यक्ष, सहिद लखन गाउँपालिका २ र ३ नम्बर वडाका वडाध्यक्ष पनि सदस्य हुनेछन् ।
मनकामनाको विकास र संरक्षणमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट कम्तीमा १ जना महिलासहित ३ जनालाई मन्त्रालयले सिफारिस गर्ने प्रावधान छ । समितिमा १ जना कार्यकारी निर्देशक रहनेछन् । उपसचिव सरहको पदमा नियुक्त हुने कार्यकारी निर्देशकले समितिको सदस्य सचिवका रुपमा काम गर्ने छन् ।

निर्देशक बन्न व्यवस्थापन, मानविकी, शिक्षा, कानुन वा पर्यटनसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । निर्देशकले नै कार्यालयको सबै व्यवस्थापकीय काम गर्ने छ । अब मन्दिरको व्यवस्थापन र सञ्चालन यसै समितिले गर्ने छ । मन्दिरमा संकलित भेटी र दानसमेतको व्यवस्थापन पनि गर्नेछ । यस अघि मन्दिरको भेटी पुजारीले व्यवस्थापन गर्दै आएका थिए ।

भक्तजन, तीर्थयात्री तथा दर्शनार्थीबाट दान दान्तव्य वा भेटी व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ भने समिति मातहत कोष रहनेछ । भेटी, दानबाट संकलित रकम त्यसै कोषमा जम्मा गर्ने गरी प्रदेश सरकारले कानुन बनाएको मन्त्री गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here