गाेरखा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाेरखामा गएराति आरिघाेप्टे वर्षा भएकाे महाशाखाले जनाएकाे छ । १०० मिलिलिटर भन्दा धेरै पानी पर्नुलाई आरीघाेप्टे वर्षा भन्ने गरिन्छ । गाेरखा जिल्ला लगाएका आसपासका क्षेत्रमा १५० मिलिलिटर भन्दा धेरै वर्षात भएकाे हाे । वर्षा आज दिन भरी रहने महाशाखाले जनाएकाे छ ।
जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





