राजेन्द्र न्यौपाने
२४ असोज, गोरखा । शहिदलखन गाउँपालिका वडा नम्बर ३ सिलिङटार र इञ्छाकामना गाउँपालिका वडा नम्बर ४ जोड्ने झोलुङ्गे पुल असोज ११ र १२ गते आएको वाढिले विगारेपछि सास्ती खेप्दै आएका गाउँहरुमा यतिबेला खुशी छाएको छ ।
शहिदलखन गाउँपालिका र झोलुङ्गे पुल सम्बन्धि काम गर्दै आएको सस्पेन्सन व्रिज शाखाका इन्जिनियरको प्राविधिक सहयोगमा पुलको लठ्ठा तानेर सञ्चालनमा ल्याइएको हो । इन्जिनियर राजेन्द्र गौतम, शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगर, शहिदलखन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपकबाबु पाण्डे पुल निर्माणको काम सम्पन्न गरेपछि मात्रै घर फर्कने भन्दै पुल मर्मतको काममा सघाइरहेका छन् ।
टाइफर मेसिनको प्रयोग गरेर पुलको लठ्ठा तानेसँगै पुलको छेउमा जाली भरेर आउजाउ गर्न सहज बनाइएको इन्जिनियर गौतमले बताउनुभयो ।
पुलको पखेटाको रुपमा रहेको भाग बाढीले बगाएको कारण अहिले मानिसहरुलाई आउजाउ गर्न सहज बनाइदिएको गौतमको भनाई छ ।
चाडपर्वका समय रातमा समेत पुलमा ओहोरदोहोर हुनसक्छ त्यसका लागि गाउँपालिकाबाट पटक पटक ताकेता भएको कारण पुल निर्माणमा टोलि खटाएको गौतमको भनाई छ ।
भोलिसम्म पुल पुणर् रुपमा सञ्चालनमा आउने गौतमले बताउनुभयो । पुलबाट मोटरसाइकल लगायतका सवारी नचलाउन स्थानीयलाई सजग गराइएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो ।
दशैँ अघि पुल बन्छ जस्तो लागेको थिएन, पुल बनेर वारपार गर्न सजिलो भएको स्थानीय रोशन गुरुङको भनाई छ ।