
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रुपमा मनाउँदै छन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
“सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो, सात्त्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबली पनि शास्त्रीय हो”, उनले भने ।
ब्राह्मणका लागि भने पशुबली बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाई छ । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशुबलीलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् ।