२६ असोज, गोरखा । गोरखाबाट निर्वाचित प्रदेश र सँघीय साँसदहरुको यस वर्षको दशैँ जिल्ला वाहिर हुने भएको छ ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाका साँसद राजेन्द्र बजगाईँको दशैँ काठमाण्डौमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर २ का साँसद एवँ पूर्व प्रधानमन्त्री प्रचण्ड काठमाण्डौमा नै दशैँ मनाउने कार्यक्रम रहेको सचिवालयका कर्मचारीले जानकारी दिएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का साँसद एवँ गण्डकी प्रदेश सभामुख कृष्ण प्रसाद धितालले यस वर्षको दशैँ काठमाण्डौ स्थित बुढानिलकण्ठको नयाँ घरमा मनाउने भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का साँसद एवँ गण्डकी प्रदेश नेपाली काँगेसका प्रमुख सचेतक नन्दु प्रसाद न्यौपानेको दशैँ काठमाण्डौमा हुने भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ का साँसद एवँ गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाको दशैँको टिका काठमाण्डौमा हुने मन्त्री देवकोटाले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, परिवार र आफ्नो समेत उपचारको क्रममा दिल्ली रहनु भएकोले जिल्ला आउन नसकेको बताएका छन् ।
प्रतिनिधि सभाका साँसद हितराज पाण्डे दशैँ मनाउनका लागि आफ्नै पुख्र्यौली घर गाइखुर आइपुगेका छन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु अधिकाँश जिल्लामा नै रहेका छन् । दुई वटा नगरपालिका र ९ वटा गाउँपालिका भित्रका प्रमुखहरु आफ्नै घरमा दशैँ मनाईरहेका उनीहरुको सचिवालयले जानकारी दिएका छन् ।
निर्वाचनका समयमा टिकटका लागि मरिहत्ते गर्ने साँसदहरु चाडपर्वका समयमा समेत जिल्ला नआउँदा मतदाताहरु भने खुशी छैनन् ।
कतिपय साँसदहरु निर्वाचनमा विजयी भएदेखि अहिले सम्म पनि निर्वाचन क्षेत्रमा नगएको गोरखाका मतदाताहरुले बताएका छन् ।
चाडपर्वका समयमा आफ्ना मतदातासँगै बसेर दशैँ मनाउने अवसर गाेरखाली मतदाताहरुले बहुदल आएदेखि नै नपाएका हुन् ।
यस अघिका जनप्रतिनिधिहरु समेत जिल्लामा तारिखमा आए जस्ताे कहिले काँही मात्रै आउने गरेका गुनासाे मतदाताहरुले गरेका छन् ।
गाेरखाबाट निर्वाचित हुने साँसदहरु पदमा साँसद भएपनि व्यवहारमा पर्यटककाे भूमिका मात्रै निर्वाह गर्ने गरेकाे मतदाताहरुले बताएका छन् ।
जनताका पिरमर्कामा साथ दिनु भन्दा पनि मिडियावाजी गर्ने, यहाँकाे अभाव र गरिविलाइ उदाङ्रगाे पार्न नेताहरू लागि परेकाले असल जनप्रतिनिधि चयन गर्न सँधै सचेत रहनुपर्ने उनीहरूकाे भनाइ छ ।






