मालपोत कार्यालय गोरखाद्वारा ८३ लाख भन्दा धेरै राजश्व सङ्कलन

मङ्लबार, कार्तिक ६, २०८१

६ कार्तिक, गोरखा । मालपोत कार्यालय गोरखाले साउन, भदौ र असोज महिनामा ८३ लाख ३३ हजार ६७९ रुपैयाँ राजश्व सँकलन गरेको जनाएको छ । सँकलन भएका राजश्व मध्ये रजिष्ट्रेशन शुल्कको १ प्रतिशत गण्डकी प्रदेश सरकारको सँचित खातामा, बाँकी रकमको ४० प्रतिशतले हुन आउने रकम पनि गण्डकी प्रदेशको सञ्चित खातामा र प्रत्येक स्थानीय तहबाट सँकलन भएको बाँकी ६० प्रतिशत ले हुन आउने राजश्व रकम सम्बन्धित स्थानीय तहको सञ्चित खातामा जम्मा हुने गरी बाँडफाँड गरिएको मालपोत अधिकृत जगदिश मिश्रले बताउनुभयो ।
गत वर्ष रजिष्ट्रेशन, फारम र पुर्जा विक्री, न्यायिक दस्तुर, दण्ड, जरिवाना, रोक्का, सेवा शुल्क, अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर र अन्य शिर्षकबाट कुल ९ करोड, ८३ लाख, ५६ हजार २६३ रुपैयाँ राजश्व सँकलन भएको थियो । सँकलन भएका राजश्व प्रत्येक महिना प्रदेश र स्थानीय तहका सञ्चित खातामा पठाउने गरिएको अधिकृत मिश्रले जानकारी दिनुभयो । गोरखा जिल्लाका दुई वटा नगरपालिका र ८ वटा गाउँपालिकाले मालपोत कार्यालय गोरखाबाट कारोवार गर्दछन् । चुमनुब्री गाउँपालिकाको कारोवार सेवा केन्द्र सिर्दिवासबाट हुँदै आएको छ ।