कमलबाबु परियार
आरलाङ्दी माई मेला-२०८१, शाहिद लखन गाउँपालिका वडा नं. ४ आरलांदी मन्दिर पेरिफेरीमा २०८१ मंसिर २९ र ३० गते हजारौंको संख्यामा उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
करीव २०/२५ वर्ष पछि आयोजना गरिएको यस मेलाले पुरानो संस्कृतिको प्रबर्धन, संरक्षण र पुस्ता हस्तान्तरण गर्दै स्थानिय उत्पादन र परिकारको प्रदर्शन र बजारलाई समेत प्राथमिकता दिएको छ, जसले स्थानिय उत्पादन, व्यवस्थापन र व्यापारलाई प्रवर्धन गर्दै आत्मनिर्भर बन्न प्रेरित गरेको छ। मेलाले विविध सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई उजागर गर्दै बहुल जाति, धर्म र संस्कारका समुदायको लागी समानता र समतामूलक समाज निर्माणतर्फ एउटा महत्त्वपूर्ण कदम उठाएको मैले महशुस गरेको छु।
संस्कृति संरक्षण र पुस्ता हस्तान्तरण
मेलाले पुराना परम्पराहरूलाई नयाँ पुस्तासमक्ष परिचित गराउँदै संस्कृति हस्तान्तरणको उत्कृष्ट माध्यमको रूपमा काम गरेको छ। यसले केवल परम्पराको संरक्षण मात्र होइन, स्थानीय पहिचानलाई जोगाउने प्रेरणा पनि प्रदान गरेको छ।
स्थानीय परिकार र बजार प्रवर्द्धन
स्थानिय उत्पादनका परिकारहरूको प्रदर्शनले सहभागीहरूलाई परम्परागत स्वाद चाख्ने अवसर प्रदान गर्नुका साथै ती परिकारहरूको सांस्कृतिक महत्त्व बुझ्न प्रेरित गर्यो। यसले स्थानीय किसान, व्यवसायी र उत्पादकहरूका उत्पादनको बजार विस्तारका सम्भावनालाई उजागर गर्यो। स्थानीय परिकारको प्रमोटले ग्रामिण उत्पादनमा माग बढाउन सहयोग पुग्ने र त्यसले रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई नयाँ ऊर्जा दिने मैले विश्वास गरेको छु जसले सांस्कृतिक संरक्षणसँगै आर्थिक सशक्तिकरणको मार्ग प्रशस्त गरेको छ।
समानता र समतामूलक समाज निर्माण
बहुजातीय स्टलहरूको अवधारणाले मेलालाई केवल सांस्कृतिक प्रदर्शनीको रूपमा मात्र सीमित राखेन, बरु यो विविधतामा एकताको प्रतीक बन्न सफल भयो। विभिन्न जातीय, सांस्कृतिका महिला समूहका प्रतिनिधिहरूले आफ्ना परम्परागत सामग्री, कला, र परिकारहरू प्रदर्शित गर्दै आफ्ना मौलिकता र पहिचानलाई साझा रुपमा प्रस्तुत गरे। यी स्टलहरूले समुदायबीचको पारस्परिक समझदारी र सम्मानलाई प्रोत्साहित गर्दै सहिष्णुताको वातावरण निर्माण गरेको मैले अनुभव गरे । एकै मञ्चमा भिन्न-भिन्न संस्कृतिको झल्को देख्न पाउनु आगन्तुकहरूको लागि पनि शिक्षाप्रद र प्रेरणादायक अनुभव बनेको यस अवधारणाले मेलामा सहभागी सबैलाई समान अवसर उपलब्ध गराउँदै, समतामूलक समाज निर्माणको दिशा तय गरेको र विभिन्न समुदायको सहभागिताले विभाजन होइन, सहकार्यको सन्देश प्रवाहित गर्यो। मेलाले बहुजातीय प्रतिनिधित्वमार्फत सबै जातीय, धार्मिक, र सांस्कृतिक समूहलाई बराबरी स्थान दिएको र एकताको महत्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको यो प्रयासले समाजमा विद्यमान विभेद घटाउँदै साझा भविष्य निर्माणका लागि आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको मैले महसुस गरें ।
लोक संस्कृति झल्काउने झाँकी प्रदर्शन
आरलांदी माई मेलामा प्रस्तुत भएका विभिन्न लोक संस्कृतिहरू झल्कने झाँकीहरूले नेपालको सांस्कृतिक विविधता र मौलिकतालाई उजागर गरेका छन्। कौरा नाच, झ्याउरे, लाखे, मारुनी नाच, पन्चेवाजा, घाँटु नाच, रतौली, र लोकगीतमा आधारित नृत्य तथा भजन प्रदर्शनले हरेक क्षेत्रको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएका थिए। यी प्रस्तुतिहरूले मेलालाई सौन्दर्य प्रदान गर्नुका साथै आगन्तुकहरूलाई हाम्रो परम्परागत कला, संगीत, र जीवनशैलीको झल्को दिलाए। यी झाँकीहरूले नेपालको सम्पदा केवल मनोरञ्जनको स्रोत मात्र नभएर महत्वपूर्ण शिक्षा पनि प्रदान गरेको छ। आगन्तुकहरूले विभिन्न समुदायका परम्परागत नृत्य र संगीतको महत्त्वबारे बुझ्ने मौका पाए। लाखे र मारुनीजस्ता नाचहरूले मिथक र धार्मिक कथा बोक्दछन् भने कौरा र झ्याउरेजस्ता नृत्यहरूले गाउँ-समुदायको दैनिक जीवन र सहकार्यलाई चित्रित गर्छन्। यस्ता सांस्कृतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्ना पुराना परम्पराहरू प्रति सम्मान र गर्व गर्न सिकाएको छ। यस प्रकारका झाँकी प्रदर्शनहरूले हाम्रो सांस्कृतिक सम्पदाको महत्त्व मात्र उजागर गरेनन् ती परम्पराहरूलाई जोगाउने अभियानमा पनि सहयोग पुर्याएको छ। मेलाको माध्यमबाट यी विविध संस्कृतिहरूलाई एकै ठाउँमा प्रस्तुत गर्नुले विभिन्न समुदायबीचको सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहन गरेको छ। यसले आगन्तुकहरूलाई मनोरञ्जनसँगै नेपालका विभिन्न जातीय, सांस्कृतिक र धार्मिक पक्षहरूको गहिरो जानकारीमुलक शिक्षा प्रदान गरेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति
आरलांदी माई मेलाको अर्को विशेष आकर्षण भनेकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको उत्कृष्ट प्रस्तुति थियो। पृथ्वी गुरूंग, सीताराम परियार, सरू थापा मगर, निर्जला गुरूंग, विजय परियार लगायतका कलाकारहरूले आफ्नो साङ्गीतिक र सांस्कृतिक प्रस्तुतीमार्फत मेलालाई जीवन्त बनाएका थिए। यी प्रस्तुतीहरूले मेलामा सहभागी दर्शकहरूलाई केवल मनोरञ्जन प्रदान गरेन, सांस्कृतिक विविधताको महत्त्व र कलाकारिताको गहिरो प्रभाव पनि अनुभव गरायो। उनीहरूको प्रस्तुतिले मेलाको सौन्दर्यलाई अझ उचाइमा पुर्याउँदै हरेक उमेर समूहका दर्शकहरूको मन जित्न सफल भएको थियो। कलाकारहरूको सहभागिताले मेलालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो। उनीहरूको प्रस्तुतीले स्थानीय र बाह्य आगन्तुकहरूलाई नेपालको सांस्कृतिक धरोहर र प्रतिभाबारे गहिरो सन्देश दियो। विशेषगरी, यी कार्यक्रमहरूले मेलालाई साधारण क्षेत्रीय उत्सवबाट बाहिर ल्याएर एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आकर्षणका रूपमा स्थापित गर्यो। कलाकारहरूको प्रस्तुतीले मेलाको उद्देश्य मात्र होइन, त्यसको सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्यायो। यसरी, मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको उपस्थिति र योगदानले स्थानीय कला, संस्कृति, र प्रतिभालाई विश्वमाझ उजागर गर्ने मात्र नभई, आगामी दिनमा मेलाको महत्त्व र दायरा अझ विस्तार गर्ने आधार तयार गरेको छ। यस्ता प्रस्तुतिहरूले सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनलाई प्रोत्साहन गर्न उल्लेखनीय योगदान पुर्याएको छ।
धन्यवाद !
यस भव्य मेलालाई सफल बनाउनमा योगदान दिनुहुने वडा नं. ४ का वडाध्यक्ष यम बहादुर थापा तथा वडा परिवार आरलांदी मन्दिर व्यवस्थापन तथा जीर्णोद्वार समितिका अध्यक्ष रमेश कुमार श्रेष्ठ तथा सम्पुर सदस्य , संयोजक ध्रुव प्रसाद खनाल, मेलाको सांस्कृतिक समृद्धिमा आफ्नो प्रस्तुति दिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार, स्थानीय बुद्धिजीवी, सचेतक, सम्पुर्णको सहयोग र साथलाई विशेष धन्यवाद व्यक्त गर्दछु।
आरलांदी माई मेला २०८१ मात्र एउटा वार्षिक उत्सव नभएर, हाम्रो संस्कृतिको पहिचानलाई जोगाउँदै नयाँ पुस्तालाई जोड्ने एक प्रेरणादायक मेला हो। यसले समुदायको संस्कृति, एकता र मनोरञ्जनको अनौठो संगम र आर्थिक समृद्धिको दिशामा नयाँ आधारस्तम्भ निर्माण गरेको छ।






