पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा सहित परिवार भेटघाट

बिहिबार, फाल्गुन ८, २०८१
0
281

अभिषेक तामाङ
८ फागुन, गोरखा । पुर्व प्रधानमन्त्री एवँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नु भएको छ । मिरकोटमा हुन गइरहेको कोटगढी महोत्सव उद्घाटनका लागि आज गोरखा आइपुग्नु भएका दाहालले सहिद परिवारसँग भेट गर्दै बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र सहिदहरु देशका साझा सम्पत्तिको रुपमा रहनुभएको बताउनभयो ।
गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरुका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका विरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो ।

पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here