राजेन्द्र न्यौपाने
२०५२ साल फागुन १ गतेदेखि सुरु भएको माओवादी जनयुद्ध करिब एक दशक लामो संघर्षपछि २०६२/६३ को जनआन्दोलनसँगै अन्त्य भयो । हजारौंको बलिदान र संघर्षपछि नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर आज पनि जनयुद्धका उद्देश्य र उपलब्धि, नेताहरूको आचरण र जनजीवनबीच ठूलो अन्तर देखिन्छ ।
युद्धका आदर्श
माओवादीले जनयुद्ध सुरु गर्दा सामन्तवादको अन्त्य, गणतन्त्रको स्थापना र समानतामूलक समाज निर्माण गर्ने उद्घोष गरेका थिए । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय सबै नागरिकलाई समानरूपमा उपलब्ध गराउने सपना देखाइएको थियो ।
उपलब्धि र परिणाम
राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा भयो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । महिलासहित दलित, आदिवासी, मधेसी र पिछडिएका वर्गलाई समानुपातिक अधिकार सुनिश्चित गरियो । माओवादी पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा उदायो र प्रधानमन्त्रीसम्म पुगे । तर युद्धले करिब १७ हजारको ज्यान लियो, हजारौं घाइते, बेपत्ता र विस्थापित भए ।
नेताहरूको वर्तमान जीवनशैली
संघर्षकालमा “जनताको सेवक” भन्दै साधारण जीवन बिताउने नेताहरू अहिले ठूला घर, महँगा गाडी, विदेश उपचार र ऐश्वर्यपूर्ण जीवनशैलीमा रमाइरहेका छन् । प्रचण्ड, बाबुराम, वर्षमान पुन, जनार्दन लगायत नेताहरू पटक–पटक सरकारको शीर्ष तहमा पुगे पनि जनतालाई ठोस सुविधा दिन सकेनन् । आफ्ना आफन्त र नजिकका कार्यकर्तालाई मात्र अवसर दिने प्रवृत्ति बढ्यो ।
कार्यकर्ता र जनताको अवस्था
घाइते र अपाङ्गता कार्यकर्ता अझै उपचारविहीन छन्, बैसाखी र परनिर्भर जीवन बिताइरहेका छन् । रोजगारीविहीन कार्यकर्ता संघर्षकालमा पढाइ–लेखाइ छाडेका युवाहरू आज बेरोजगार छन्, कतिपय विदेशिन बाध्य छन् । महिला पूर्वलडाकू युद्धमा योगदान पुर्याए पनि समाज र पार्टीले उपेक्षा गरेका छन् । शहीद परिवार अझै राहत, शिक्षा वा रोजगारी बिना सामान्य जीवन बिताइरहेका छन् ।
दमन र मौसमी पात्रको प्राथमिकता
इमानदार कार्यकर्ताले नेताको वास्तविकता प्रश्न उठाउँदा उनीहरूलाई पद र अवसरबाट टाढा राखिन्छ । अन्य दलबाट आएका वा मौसमी, धनवान कार्यकर्तालाई मात्र प्राथमिकता दिइन्छ । नेताहरूले तिनै पात्रलाई प्रयोग गरी पुराना कार्यकर्ताविरुद्ध बोल्न लगाउने गरेका छन् र आफूलाई निर्दोष ठहर गर्छन् ।
सत्ताबाट लाभ र अवाञ्छित आम्दानी
पदमा पुगेपछि नेताहरूले पुराना पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराई आर्थिक संकलन गर्ने, अवाञ्छित आम्दानीलाई वैधानिक देखाउने प्रवृत्ति बढेको छ । नेताहरू व्यक्तिगत सम्पत्ति र सुविधामा रमाइरहेका बेला जनताको पक्षमा ठोस उपलब्धि देखिँदैन ।
आदर्श र व्यवहारबीचको विचलन
युद्धकालमा सादगी र जनसेवाको उद्घोष थियो, तर आज व्यक्तिगत सम्पत्ति र सुविधा नै प्राथमिकता बनेको छ । हिजो जनताको घरमा बास बस्ने बाध्यता थियो, तर आज सत्ताको प्रलोभन, बिग्रिएको राजनीतिक संस्कृतिको प्रभाव र व्यक्तिगत महत्वाकांक्षाले नेताहरूलाई विलासी जीवनतर्फ मोडेको छ । माओवादी आन्दोलनले नेपालको राजनीतिक संरचना बदलिदियो, तर समानता, सामाजिक न्याय र विकासको सपना अझै अपूरा छन् ।
पुराना, त्यागी र इमानदार कार्यकर्तामाथि भएको दमन, मौसमी र पैसावालालाई दिइएको प्राथमिकता र नेताहरूको विलासी जीवनशैलीले आन्दोलनकै आत्मा कमजोर बनाएको छ । नेपाललाई साँचो अर्थमा स्वाभिमानी, आत्मनिर्भर र समृद्ध बनाउन अब युवापुस्ताको निस्वार्थ नेतृत्व आवश्यक छ । बलिदान र संघर्षलाई अवसरको भर्याङ होइन, देश विकासको आधार बनाउनुपर्ने आजको आवश्यकता हो ।
लेखक एमफिल /पिएचडीका शोधार्थी हुन् ।






