राजेन्द्र न्यौपाने
१३ असोज, गोरखा । गोरखा दरबारको ऐतिहासिक तथा धार्मिक परम्परा अनुसार यस वर्ष पनि बडादशैंको सातौँ दिन अर्थात् फूलपातीको अवसरमा गोरखा कालिकाको दशैंघरबाट काठमाडौंको हनुमान ढोका दरबारतर्फ फूलपाती पठाइएको छ । परम्परा र संस्कृति जगेर्नासँगै राष्ट्रिय एकता र राजसंस्कृतिको प्रतीकका रूपमा रहेको यो चलन अहिलेसम्म निरन्तरता दिइँदै आएको छ ।
बिहान ७ः३० बजे तोकिएको शुभसाइतमा गोरखा दरबार परिसरमा विशेष पूजाआजा सम्पन्न गरेर फूलपातीसहितको डोली काठमाडौं पठाइएको हो । गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकका अनुसार दशैंघरका सुसारेहरूले विधिपूर्वक पूजाआजा गरी डोली बोकेर ल्याई पुरातत्व विभागको बा.२ झ ३८८२ नम्बरको सरकारी गाडीमा राखी हनुमान ढोका दरबारतर्फ पठाइएको हो ।
फूलपाती तयारीमा मगर समुदायका पुजारीहरूको विशेष भूमिका रहेको थियो । उनीहरूले धार्मिक विधिअनुसार खोजेर ल्याएको फूलपातीलाई दशैंघरमा राखी विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि सुसारेहरूले डोली बोकेर दरबार प्राङ्गणमा ल्याई सरकारी गाडीमा राखेर काठमाडौँ पठाइन्छ । यसअघि भने फूलपाती बोकेर हिँडेरै गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौं पुर्याउने परम्परा रहेको थियो । तर अहिले परिवहन सुविधासँगै त्यसलाई सवारीमार्फत लैजाने गरिएको छ ।
गोरखा कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईका अनुसार फूलपाती पठाउने क्रममा दरबार परिसरमा बाजागाजा सहितको धुमधाम हुने गरेको छ । फूलपाती भञ्ज्याङमा विधिपूर्वक पूजाआजा गरी त्यसलाई काठमाडौंको हनुमानस्थानतर्फ पठाइन्छ । “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुगेपछि त्यही दिन साँझ भित्र्याउने र त्यसपछि काठमाडौं उपत्यकामा दशैं औपचारिक रूपमा सुरु भएको मानिन्छ,” ।
फूलपाती पठाउने यो परम्परा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहसँग जोडिएको छ । उनले काठमाडौं उपत्यकामा प्रवेश गरी हनुमान ढोका दरबारबाट शासन सञ्चालन गरेपछि गोरखा दरबारको दशैंघरबाट फूलपाती ल्याएर उपत्यकामा भित्र्याउने चलन सुरु भएको हो । यसले गोरखा र काठमाडौंबीचको ऐतिहासिक सम्बन्ध मात्र होइन, सांस्कृतिक र राजनीतिक एकताको सन्देश दिने काम गरेको छ ।
त्यसबेलादेखि अहिलेसम्म यो परम्परा निरन्तर चल्दै आएको छ । हरेक वर्ष दशैंको सातौँ दिन गोरखाबाट फूलपाती पठाइन्छ र काठमाडौं उपत्यकामा विशेष विधि र धुमधामका साथ भित्र्याइन्छ । यसरी भित्र्याइएको फूलपातीले उपत्यकावासीलाई दशैं सुरु भएको सन्देश दिने गर्दछ ।
गोरखाबाट फूलपाती पठाउने क्रममा दरबार परिसरमा भव्य बिदाई समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, नेपाली सेनाको ब्याण्ड टोली, तत्कालीन पृथ्वीनारायण शाहका पालाका गुरुज्यूको पल्टन, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय संघ–संस्थाका सदस्य र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली सेनाको धुनसँगै फूलपाती बिदाइ गर्दा दरबार परिसरमा उत्साहपूर्ण वातावरण सृजना भएको थियो । परम्परागत बाजागाजाको तालमा स्थानीयवासीले पनि फूलपातीको यात्रा अवलोकन गरेका थिए । यसरी फूलपाती बिदाइ गर्दा देखिएको जन सहभागिताले यो परम्परा स्थानीय समुदायमै मात्र सीमित नभई राष्ट्रिय गौरवको विषय भएको स्पष्ट हुन्छ ।
फूलपाती दशैंको विशेष दिन मात्र नभई नेपाली समाजको सांस्कृतिक विविधता र एकताको प्रतीक पनि हो । गोरखाबाट काठमाडौं पठाइने फूलपातीलाई राष्ट्रिय पर्वका रूपमा हेर्ने गरिएको छ । यसले गोरखा दरबारको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई अझ मजबुत बनाएको छ ।
सांस्कृतिक विद्वान्हरूका अनुसार फूलपातीको परम्पराले नेपालमा एकीकरणको भावनालाई बलियो बनाएको छ । गोरखाबाट सुरु भएको दशैंको विधि काठमाडौंमा पुगेर राजदरबारमा सम्पन्न हुने प्रचलनले गोरखा र काठमाडौंबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
यसरी गोरखाबाट काठमाडौं पठाइने फूलपाती केवल धार्मिक संस्कार मात्र नभई नेपालको इतिहास, संस्कृति र राष्ट्रिय एकताको धरोहर हो । तत्कालीन राजदरबारको शासन प्रणालीसँग जोडिएर सुरु भएको यो परम्परा अहिले पनि निरन्तरता पाइरहेको छ । आजको दिनमा गोरखा दरबारबाट पठाइएको फूलपाती साँझसम्म काठमाडौंको हनुमान ढोका दरबारमा भित्र्याइनेछ । त्यसपछि दशैं पर्वको औपचारिक सुरुवात हुने परम्परा निरन्तर कायम रहिरहनेछ ।






