जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गरिने

आइतवार, भदौ १०, २०७५
0
146

सुर्खेत, १० भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताउनुभएको छ ।

तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुग्नुभएका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

लडाकुहरु अर्थात् जनसेनाले प्रयोग गरेका संरचनालाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । “यसलाई संरक्षण गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

आफूले छैटौँ डिभिजनको नेतृत्व गरिरहँदा रसिया, अमेरिकालगायतका देशका विद्यार्थीले लडाकुबारे अनुसन्धान गरेको बताउँदै उहाँले इतिहासलाई बचाउन लडाकुले प्रयोग गरेका सबै संरचनालाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो यो शिविरलाई विदेशीबाट समेत महत्व दिएर यसको अनुसन्धान गरी उनीहरुले शिक्षा प्राप्त गरेका छन् । यो हाम्रो सम्पदा भएकाले यसलाई युद्ध पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न जरुरी छ ।”

विगतमा लडाकुले प्रयोग गरेका संरचना र सामग्रीलाई सङ्ग्रालय बनाई पर्यटनका रुपमा विकास गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो । राज्यसत्ता परिवर्तन नगरी समृद्ध नेपाल निर्माण नहुने भन्दै मुख्यमन्त्री शाहीले जनयुद्ध गर्नुपरेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले सुर्खेतको दशरथपुरमा रहेको छैटौँ डिभिजनको दुई वर्ष नेतृत्व गर्नुभएको थियो । तत्कालीन माओवादी सेनाका मुख्य र सहायक शिविर गरी २१ वटा अस्थायी शिविर रहेका थिए । त्यसैमध्येका तीन वटा सुर्खेतको लेकबेंसी नगरपालिकाको दशरथपुरमा थिए ।

कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि पहिलोपटक ब्यारेक हेर्न पुगेका शाहीले आफू बसेको भवन, ब्यारेक तथा आफूले प्रयोग गरेका गाडीको अवलोकन गर्नुभयो । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा निर्माण गरिएको जनमुक्ति सेनामा डिभिजन कमाण्डरका रुपमा काम गर्नुभएको थियो ।

माओवादी सेनाले प्रयोग गरेका व्यारेक जीर्ण भई घाँसेझाडीमा परिणत भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो ।

मन्त्री केसीले यसको इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व भएकाले संरक्षणका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here