गाेरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मँसिर ४ को चुनाव जनमत सँग्रह जस्तै भएको बताएका छन् । आज गोरखा जिल्लाको सिरान्चोक गाउँपालिका वडा नम्बर ३ स्थित हर्मी भञ्ज्याङमा आयोजित कार्यक्रम सो कुरा बताएका हुन् ।
आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी बताउँदै गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको उनकाे भनाइ छ । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताए ।
गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताए । गोरखा – २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूणर्ता दिने यो अन्तिम अवसर भएको उनकाे भनाइ छ ।
गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने, ’सबै पीडितहरूलाई परिपूरण भनेको-आर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ ।
तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने उहाँको भनाइ छ । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए ।
राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईंहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,’ प्रचण्डले भन्नुभयो, ’जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’






