परदेशीकाे दशैँ यसरी आउँदाे रहेछ : अविरल

मङ्लबार, कार्तिक ४, २०७७
0
518

पर्वहरुले छपक्कै छोपिसक्यो । चारैतिर पर्बको हावा चलिसकेको छ । निरन्तर हुने बर्षात् रोकिएसंगै वरिपरि सप्तरङ्गी फूलहरूले पर्यावरण मनमोहक बनाएको छ । सदियौं पुराना पर्वहरू हाम्रा अमूल्य नीधि हुन् यिनीहरूको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यो जिम्मेवारी बाट कोही पनि पन्छन मिल्दैन ।

बढ्दो शहरीकरण, बसाईंसराइ सँगै पर्व मनाउने तौरतरिका पनि फरकफरक छन् । आधुनिकीरणसँगै पर्बले एउटा भयाबह परिस्थिति पनि सिर्जना गरेको कटु सत्य हो । पर्बले हामीलाई एउटा शुत्रमा बाँध्ने काम गर्छ । आपसी वैमनस्यतालाई हटाएर पारिवारिक आयाम थप्ने काम गर्छ । यो नै पर्वहरूको विशेष महत्व हो ।

अब परदेशी र पर्व बिच को सम्वन्ध छ त ? यसबारेमा चर्चा गरौं । यस सम्बन्धमा बालापनमा घटेको एउटा घटनाक्रम लाई उल्लेख गर्न सान्दर्भिक ठान्दछु । ठूलाबडाहरूलाइ दशैं कहिले आउँछ भनेर सोध्दा जवाफ आउँथ्यो ‘उ त्यो कालो पहराको बाटो लर्को लाएर क्यासेट बजाएर लाहुरे आउछन् नि तब मात्रै दशै आउँछ बाबू ।’ आज बल्ल महसुस हुँदै छ, पर्व र परदेशी बीचको सम्बन्ध के रहेछ भनेर । जब जब पर्व आउन सुरु गर्छ, एक महिना पहिले नै उसलाइ सब तालिका थाहा हुनुपर्दो रहेछ । हरेक पर्व आउनु अगाबै घरको आवश्यकतालाई मनको डायरीमा लेखेर तनको कलमले जोड घटाउ गर्दै पैसा पठाउनुपर्छ तर उसले त्यो पर्ब मान्न नमाएको बर्षौ भैसकेको हुन्छ । जुन दिन पर्व शुरु हुन्छ त्यसदिन मिले छुट्टी लिएर नभए आफ्नो सुत्ने समय कटाएरै भएपनी नातागोता इस्टमित्र साथी भाइ परिवार सबैलाई पालैपालो सम्झिनै पर्छ नत्र फेरि उसलाई परिवार, नातागोता र साथीभाई सबैलाई चटक्कै बिर्सेको आरोप लाग्छ । भनाई पनि उसैले खानुपर्छ पर्व मान्न पनि उसैले पाउँदैन सबैको गुनासोको सम्बोधन पनि उसैले गर्नुपर्छ । त्यही भएर पो रहेछ पर्व पहिले लाहुरेलाई आउँदो रहेछ, परदेशी लाई आउदो रहेछ ।

आधुनिकता संगै बढेको खर्चको भारले थिचिरहेको छ आजकाल विदेशिनेहरूलाई । तलब स्केल आज भन्दा १५ बर्ष पहिले र अहिलेमा तात्विक भिन्नता छैन तर खर्चको शीर्षक कति छ गनि साध्य छैन । यी सबैको ब्यवस्थापन गर्ने त्यही परदेशि हो । त्यसैले त भन्दैछु अरुलाई भन्दा परदेशिलाई पो पहिले आउँदो रहेछ पर्व । नेपालीहरूको महान् पर्व बडा दशैँ तपाईं हाम्रो घर आँगनमा आइपुगेको छ । त्यति मात्र कहाँ हो र ? विश्व जगतलाइ आतंकित बनाएको कोरना भाइरस कोभिड–१९ पनि मानव समुदाय माथि चुनौतीको रूपमा भित्रिएको छ यस बिषम परिस्थितिमा आफ्नो आफ्नो स्थानबाट यसलाइ परास्त गर्न हामीले आफुलाई सजग बनाउँदै अगाडि बढौं । विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पूर्ण रूपमा पालना गर्दै आफ्नै घरमा बसेर दशैं, तिहार, नेपाल सम्वत्, छठ पर्व मनाऔं । सबैलाइ यो परदेशीकोतर्फबाट यी सवै पर्वको शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here