शहिदलखन,गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिकाको विभिन्न स्थानमा आज आँखा जाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ गोरखाको आयोजनामा भएको शिविरमा २ विद्यालय र १ स्वास्थ्य चौकीमा गरी कुल १९१ जनाको आँखा जाँच सकिएको हो ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएको शिविर केही साता देखी सञ्चालनमा आएको हो । क्लबले हिजो (मङ्गलबार) शहिद लखन गाउँपालिका २ को मनकामना स्वास्थ्य चौकी र ३ मा रहेको चण्डेश्वरी प्रार्थमिक र गंगा धर्म आधारभूत बिद्यालयमा आँखा शिविर सम्पन्न गरेको अध्यक्ष श्यामबावु श्रेष्ठले बताए।
स्वास्थ्य चौकीमा भएको आँखा जाँच शिविरमा ३१ जना पुरुष र ४३ जना महिला गरी कुल ७४ जनाको सहभागीता रहेको क्लबले जनाएको छ ।
चण्डेश्वरी प्रार्थमिक र गंगा धर्म आधारभूत बिद्यालयमा पनि आँखा जाँच शिविर सम्पन्न भएको छ । चण्डेश्वरीमा १३ जना छात्र र १९ जना छात्राले तथा गंगा धर्म आधारभूत बिद्यालयमा भएको शिविरमा ३५ जना छात्र र ५० जना छात्राको सहभागीता रहेको थियो ।
शिविरमा आँखा कमजोर छ वा छैन, चश्मा लगाउनु पर्छ वा पर्दैन तथा आँखा अप्रेशन गनुपर्ने भए त्यस्ता रोगीको छनौट गरिने गर्दछ । क्लबले सोमबार देखी जिल्लाका विभिन्न ग्रामिण ईलाकामा आँखा जाँच शिविर सञ्चालनको सुरुवात गर्न थालेको छ । हिजो (सोमबार) बक्राङ स्वास्थ्य चौकीमा भएको आँखा शिविरमा ४२ जना पुरुष र ४५ जना महिलाले आँखा जाँच गराएका थिए ।
बक्राङमा भएको शिविरमा ५ र आज मनकामना स्वास्थ्य चौकीमा भएको शिविरमा १ जना बिरामीको आँखा अप्रेशन गनुपर्ने देखिएको क्लबले जनाएको छ । आज २ बिद्यालयमा भएको आँखा जाँच शिविरमा भने ५ जनाको आँखा कमजोर देखिएकोले चश्मा लगाउन सिफारीस गरिएको छ ।
शहिद लखन गाउँपालिकाले विभिन्न सहयाेगी निकायहरुकाे सहयाेगमा पालिका भित्र रहेका सबै विद्यालय र अन्य नागरिकका आँखा जाँच गर्ने अभियान सञ्चलान गरिरहेकाे छ ।






