म नेपालकाे शानकाे गीत गाऊँ
सधैं राष्ट्रकाे प्रार्थना गुनगुनाऊँ
मलाई कुनै स्वर्ग चाहिन्न अर्को
गरी कर्म नेपालमै मर्न पाऊँ
सुधातुल्य मानिन्छ आफ्नाे कमाइ
म आफै गरूँ श्रम कमाएर खाऊँ
प्रतिज्ञा गरेको छु मालिक नबन्ने
म सेवक हुँ सेवा गरेरै रमाऊँ
छ तिर्खाएजस्ताे धरा उर्वरा यो
बगाएर पसिना म माटो भिजाऊँ
जहाँ नाङ्गिएका पखेराहरू छन्
म पाेखूँ त्यहाँ सीप हरियाे गराऊँ
म सन्तान तिम्रै हुँ नेपाल अामा
पुजूँ शुद्ध मनले, सधैं शिर झुकाऊँ
बहर- मुतकारिब मुसम्मन सालिम
अर्कान- 122.122.122.122.
काफिया बन्धन- आऊँ
घनश्याम परिश्रमी






