कार्तिक ५, गाेरखा । कक्षा १२ काे परीक्षा मँसिर दाेस्राे साता देखि सुरु हुने भएकाे छ । कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय राष्ट्रीय परीक्षा वाेर्डले गरेकाे छ ।
बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो ।
सोही आधारमा बोर्डको बैठकले परीक्षा गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले अंकलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट गरेका छन् ।
यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली (ग्रिड)लाई निस्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अंकको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ । ग्रिड हटेपछि बोर्डले ४० प्रतिशत अंकभारको प्रश्नपत्र तयार गर्नेछ । सोही आधारमा परीक्षा हुनेछ । बोर्डको निर्णयलगत्तै परीक्षा सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ ।
दशैंलगत्तै सबै विद्यालयमा उत्तरपुस्तिका पुर्याउने, प्रश्नपत्र निर्माणगर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गरी सबै सरोकारवाला निकायसँग छलफल गर्नेलगायतको काम शुरु हुने भएको छ ।
बोर्डले यस वर्षको परीक्षामा प्रवेशपत्रको आधारमा पायक पर्ने विद्यालयबाट परीक्षा दिनसक्ने व्यवस्था गरेको छ ।
बोर्डका सबै प्रदेश कार्यालयले सबै विद्यार्थीको कन्ट्याक्ट ट्रेसिङ गरी कुन विद्यार्थी कहाँ छन् भन्ने विषयमा तथ्याङ्क तयार गरिसकेको छ ।
मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारी साधनको सुविधा भएको घरपायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्था गर्ननिर्देशन दिएको थियो ।
यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोभिड–१९को कारण वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी हुन लागेको हो ।
‘केन्द्रदेखि आवश्यक पर्ने सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन हुनेछ ।






