सैपाल हिमालमा चरेकाे च्याङ्ग्रा पाेखरा आइपुग्याे

बुधबार, कार्तिक ५, २०७७
0
338

पाेखरा । सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडा र च्याङ्ग्रा पाेखरा ल्याइ पुर्याएका छन् ।

व्यावसायिक रुपले भेडारच्याङ्ग्रा पालन गर्दै आएका साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दसैँमा लागि बिक्री गर्न ११२ वटा भेडारच्याङ्ग्रा लिएर पोखरा आउने गर्दछन् ।

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडारच्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताए । ‘हाम्रो सुदूरपश्चिममा दसैँ तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन्’ बोहराले भने, ‘भेडारच्याङ्ग्रामो माग पोखरा र काठमाडौँलगायत शहरमा बढी हुन्छ ।’

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडारच्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उनी भेडारच्याङ्ग्रा चराउँदै सातौं दिनमा पोखरा आइपुग्छन् ।

सैपालका अधिकांश वासिन्दाले भेडा र च्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । दुई दिनअघि मात्रै छ ट्रक भेडारच्याङ्ग्रा पोखराका लागि ल्याइएका छन् ।

कोरोना भाइरस महामारीका बेला भेडारच्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ । ‘सैपालमा च्याङ्ग्राको तौल हेरेर १९ हजारदेखि २७ हजार रुपैयाँसम्म खरिद गरेर ल्याएको छु’, उनले भने, ‘यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।’ उनले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पूर्वाधारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा च्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

‘चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्’, उनले भने, ‘हिमालमा भेडारच्याङ्ग्रा पालन गर्न सहज भने छैन ।’

सैपालका धेरैजसो वासिन्दाले भेडा र च्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् । ‘दसैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ’, उनले भने, ‘पोखराबाट पनि दसैँमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन् ।’ बझाङबाट पोखरा ल्याएवापत प्रतिट्रक ७० देखि ८० हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको छ ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक डेढदेखि दुई करोडको भेडा च्याङ्ग्राको व्यापार गर्ने गरेको बताए । ‘पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो’, अध्यक्ष धामीले भने, ‘गाउँपालिकाका ५० प्रतिशतले भेडा र च्याङ्ग्रा पालनमा लागेका छन् ।’ पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसङ्ख्या तीन हजार रहेको छ ।

विगतमा भेडा र च्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौँ बिक्रीका लागि ल्याउन थालिएकाे अध्यक्ष धामीको भनाइ छ । उनले भेडा र च्याङ्ग्रा पालनमा सक्रिय किसानलाई सङ्घ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए । ‘यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्’, उनले भने, ‘चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here