चित्रा पौडेल का पाँच मुक्तकहरु

बिहिबार, फाल्गुन १३, २०७७
0
271

मुक्तक १

खबरदारीमा केहि दम छैन दमन झन बढेकै छ
सदाचार प्रेमी नेपालीको मन साह्रै दुखेकै छ
राजनैतिक साखको पारो यस्तरी झर्नुहुन्न थियो
पुरानामा उत्साह छैन उर्जावानहरु लडेकै छ

मुक्तक २

लाग्छ अंहकारकोअन्त्य शवको खरानी मात्र हुन्छ
पगाल्ने अथाह क्षमता प्रेमको खानीमा मात्र हुन्छ
एकैचोटी प्रकट भएछन ती रावण र कंस कलीमै
तोड मौन भूपति अब तिम्रो सावधानीमा मात्र हुन्छ

मुक्तक ३

बित्नु हो गुण समयको बितिरहन्छ
सोच्ने मन छ मान्छे कर्म गरिरहन्छ
किनबेच त स्वार्थको हुन्छ संसारमा
पल्ला यता र उता ढलपल भइरहन्छ

मुक्तक ४

अाँखाका दुई नानी जति नजिक त्यति टाढा भए
अझै पनि सन्तान कोहि फूल कोहि काँडा भए
फेर्नुपर्ने होइन र अंश र वंशका विभेदका चश्मा
न्याय र समानतामा ओत दिने नै झन छाडा भए

मुक्तक ५

कर्तव्यमा न धरा थाकिन न सुर्य अल्छी बने
केवल मान्छेको व्यहोरा स्वार्थ थाप्ने बल्छी बने
प्रेम नभए ब्रह्माण्ड कहाँआकर्षित हुन्थ्यो होला
तर कस्ले रोक्यो सिन्धु बन्न यति धेरै गल्छी बने

चित्रा पौडेल
बिराटनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here