गाेरखा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोचा स्वतन्त्रका दिपक मनाङगे सहितले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासकोम त प्राप्त गर्न नसकी पदमुक्त भएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अनुसार भोलि दिनको ३ बजेसम्म प्रदेश सभाका कुनै पनि सदस्यलाई बहुमतको आधारमा सरकार दावी गर्न समय दिएकी थिइन् ।
सोही आधारमा कांग्रेसका कृष्णचन्दै नेपाली आजै बहुमत सांसदको हस्ताक्षर र शसरीर उपस्थित भएर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
को हुन् त पोखरेल ?
गोवद्र्धन शर्मा र दौर्पदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते जन्मेका हुन कृष्णचन्द्र नेपाली पोखरेल । उनी परिवारमा माइला छोरा हुन् । जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्व सभापति हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए । साइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष हु। उनका कान्छा भाइ अमेरिका बस्छन् ।
बाबु गोवद्र्धन नै राणा शासनको विरोधमा नेपाली कांग्रेसमा लागेर जहिल्यै क्रियाशील रहे । बाबु पनि केन्द्रीय सदस्य समेत भए । ७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गरेका थिए ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना बिताएका छन् । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका पोखरेलले अर्को २ महिना जेलमा बसे । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।
२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनले जेल परे । कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ (क) बाट कांग्रेस उम्मेदवार बने । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उनी गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए ।
गण्डकी प्रदेशमा १५ सांसद रहेको कांग्रेसका कृष्णचन्द्र संसदीय दलका नेता हुन् । अहिलेसम्म कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । कृष्णचन्द्र प्रमुख प्रतिपक्षी दलका नेता थिए । प्रमुख प्रतिपक्षी दल हुने बेलामा उनले प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन जहिल्यै क्रियाशील रहे । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उनले संसदमा सशक्त आवाज उठाए ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका पोखरेलले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । उनको पढ्ने रहर त्यतिमै सिमित रहने कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे ।






