जेठ २८, जेठ । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ बर्षका रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
पक्राउ परेको कामीले आज बिहान २४ बर्षकी श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुल स्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । कामीले श्रीमतीलाई नदीमा फालेको देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र प्रहरीको टोली तत्काल घटनास्थलबाट नै उनलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले श्रीमतीलाई मारेर फालेको आंशकामा पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।
घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गएराती नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्विकार गरेको डिएसपी दाहालले भनाई छ । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भएपनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।
कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेबारिसे अबस्थामा नयाँपुल मुनि ओडारमा श्रीमती सम्झनासंग बस्दै आएको खुलेको प्रहरीको भनाई छ । उनिहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।






