राजेन्द्र न्यौपाने
गोरखा,१९ जेठ । गण्डकी गाउँपालिकाले पालिका भित्र रहेका १९ वटा परम्परागत आरान विस्थापित गरेको छ । खलातीको प्रयोग गरेर परम्परागत शैलिमा कुटो, कोदालो लगायतका कृषि औजार र अन्य घरायसी प्रयोजनका सामग्री बनाउँदै आएका कालिगढहरुलाई मागका आधारमा आधुनिक सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए ।
नेपाल सरकारले उपलब्ध गराएको विशेष अनुदानबाट गाउँपालिकाले रोजगार सेवा केन्द्र मार्फत सहयोग गरेको हो ।
आरानाका लागि आवश्यक छानो, ग्राइण्डर मेसिन, हावा फाल्ने मेसिन विद्युतिय मेसिन लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको रोजगार सँयोजक लक्ष्मण रेग्मीले जानकारी दिए ।

दलित समुदायका नागरिकहरु यस पेशामा धेरै जना सक्रिय रहेका छन् । आयस्रोत न्युन भएका नागरिकहरुले आरन व्यवसाय गर्दै आएका छन् । उनीहरुले खेति गर्ने किसानहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने सामग्री आफ्नो सीपको प्रयोग गरी बनाउँदै आएका छन् । परम्परागत रुपमा आरान सञ्चालन गर्दा पेशा जोगाउन समस्या पर्ने गुनासो आएपछि आधुनिक रुपमा आरान व्यावसाय गर्न प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए ।
बजारबाट ल्याएका सामग्री भन्दा गाउँघरमा राम्ररी पाइन मिलाएर बनाइएका सामग्री टिकाउ राम्रो हुने र काम गर्न सजिलो पर्ने भएकाले आरान व्यावसायीहरुलाई प्रोत्साहन गरिएको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
गाउँपालिकाले गरेको सहयोगले काम गर्ने मनोवल बढेको वडा नम्बर ४ फुजेलका कालिगढ दल बहादुर सुनार बताउनुहुन्छ । हावा फाल्ने खलाती बनाउन निक्कै असहज भइरहेका समय वडामा बोलाएर चाहिएको सामग्री माग गर्नु भने अनुसार आरान मै आएर सामग्री दिँदा आफू अत्यन्तै खुशी भएको भुम्लीचोकका कालिगढ काले वि.क. बताउँछन् ।
आरान व्यावसायीहरुको १५ प्रतिशत लागतमा गाउँपालिकाले १९ जनालाई मागका आधारमा आरानमै पुगेर सामग्री हस्तान्तरण गरेको थियो । यसबाट सेवाग्राहीहरुले छिटो सेवा पाउनेछन् । व्यावसायीको आरान व्यावसायको उत्पादनमा वृद्धि हुनेछ र गाउँमा सीप रहिरहने विश्वास गरिएको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन ।






