काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।
उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिए ।
प्राविधिक विद्यालयको लक्षित समुदाय भनेको आधारभुत जनता भएकाले जनताको जिवस्तार सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका अहम हुने उनको बुझाक्इ छ । उनले भने,– ‘सीटीईभीटी दक्षजनशक्ति उत्पादन, ज्ञान , रोजगारी र उत्पादनमा केन्द्रित हुनुपर्छ ।’
सीटीईभीटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न सम्बन्धन दिनपर्ने मन्त्री पौडेलले बताए ।






