
प्रविधिमैत्री शिक्षक समाजले आजको कार्यक्रम प्रचारका लागि तयार गरेकाे प्रचार समाग्री ।
राजेन्द्र न्यौपाने
गोरखा, १३ भदौ ।
‘हामी तयार छौं । बालबालिका उत्सुक छन् । प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता’ भन्ने उक्ति सहित गोरखा जिल्लाका शिक्षक वैकल्पिक शिक्षण सिकाईमा जुटेका छन् । कोरोना भाइरस संक्रमणका कारण देशैभरीका शैक्षिक संस्थाहरु बन्द रहेका समय आफ्ना विद्यालयका बालबालिकाहरुलाई वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण गराउन सकियोस भन्ने उदेश्यका साथ जिल्ला भरीका शिक्षकहरु सीप विकासमा जुटेका हुन् ।
वैकल्पिक सिकाई सहजीकरणमा सुचना प्रविधि नाम लिएर प्रविधिमैत्री शिक्षक समाज गोरखाले शिक्षकहरुका लागि १० दिने अनलाईन कार्यशाला सञ्चालन गरेको छ । भदौ ६ गतेदेखि सुरु भएको अनलाईन कार्याशाखाको खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले उद्घाटन गरेका थिए । त्यसपछि प्रत्येक दिन गोरखाका नगर र पालिका अध्यक्षहरु प्रमुख आतिथ्यता गर्दै आईरहेका समाजका अध्यक्ष गणेशराज सापकोटाले जानकारी दिए ।
कार्यक्रममा गोरखा नगरपालिका, सिरान्चोक गाउँपालिका, पालुङटार नगरपालिका, बारपाकसुलिकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका अध्यक्षहरु सहभागि भैसकेका र आज आरुघाट गाउँपालिका अध्यक्ष प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको सापकोटाले बताए ।
जिल्ला भरका विद्यालयमा कम्तीमा एक जना प्रविधियुक्त शिक्षक तयार गरी बन्द रहेको पठनपाठन प्रक्रिया अघि बढाउन आफूहरु स्थानीय तहसँग सहकार्य गर्दै अघि बढिरहेको उनको भनाई छ । कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेश सहसचिव श्रीकृष्ण आचार्य लगायतले सहजीकरण गरिरहेका समाजका गोरखा जिल्ला सचिव प्रकाश पोखरेलको भनाई छ ।





