
शहिद लखन थापा गाउँपालिका गाेरखा ।
राजेन्द्र न्यौपाने
भदौ १४ गोरखा ।
स्थानीय तहका विषयबस्तु समेटेर पाठ्यक्रम बनाउने चरणमा शहिद लखन गाउँपालिका अघि बढेको छ । पालिकाले आज विज्ञहरुसँग स्थानीय पाठ्यक्रम विकास सम्बन्धी जुम एप मार्फत भर्चुअल मिटिङ गरेर राय सुझाव लिएको हो ।
मिटिङमा खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । डा.शर्माले स्थानीय आवश्यकताको आधारमा राष्ट्रिय पाठ्यक्रमको जगमा रहेर पाठ्यक्रम तयार गर्नुपर्ने बताए । पालिकाले गठनको समूह मार्फत गर्ने वा कन्सल्टेन्सी मार्फत गर्ने भन्ने निर्णय गरेर महत्वाकाँक्षी नभई सबै लागि पर्नुपर्ने उनले बताए । आफूले गर्न सक्ने सहयोग सँधै रहने उनको भनाई छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्ण काप्री, नेपाल संस्कृत विश्व विद्यालयका पूर्व उपकुलपति शिवहरी मरहट्टा, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा. बुद्धिमान श्रेष्ठ, त्रिविका उपप्राध्यापक विकास कुमार श्रेष्ठ, विज्ञ समूहका सदस्य डा. टिकाराम भट्ट लगायतले स्थानीय पाठ्यक्रम निर्माणका आधार र प्रक्रियाको बारेमा चर्चा गरेका थिए ।
शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत जीवन बहादुर आलेले विज्ञहरुको सुझावको आधारमा पालिका अघि बढ्ने बताएका थिए । शिक्षा शाखा अधिकृत राजेन्द्र खनालले सञ्चालन गरेका उक्त कार्यक्रममा शिक्षा सरोकारवालाहरु ३० जनाको सहभागिता रहेको थियो । स्थानीय तहलाई आधारभूत तहमा स्थानीय पाठ्यक्रम निर्माणको अधिकार रहेको छ ।
(विज्ञ समूहको थप सुझाव अर्को अंकमा प्रकाशित गरिनेछ ।(सं.)




