नेपालमा ७२ घण्टा पछि नयाँ अर्थमन्त्रि

-


     मनासलु     
     भाद्र १८ गते २०७७ मा प्रकाशित


भदौ१८ काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल  ७२ घण्टा भित्र सकिन लागेको छ । अब उनी शनिबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् । खतिवडाको ७२ घण्टे ‘काउन्टडाउन’ सुरु भएको हाे। राष्टिय सभामा एक पटक मनाेनित भएकाे व्यक्ति पुन मनाेनित गर्ने व्यवस्थाका बारेमा स‌ंविधानले केही भनेकाे छैन भने सत्ताधारी पार्टी नेकपा भित्र खतिवडालाइ लैजान नहुने मत बलियाे रहेकाे छ ।

डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए । सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २० गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

डा. खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए ।

सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । अब पुनःनियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त हुने समय आइपुगेको छ ।

संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले मनासलु डटकमलाई बतायो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रुपमा खतिवडालाई निरन्तरता दिने प्रयास गरे पनि पार्टीभित्रको शक्ति सन्तुलनका कारण प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेका छन् ।

आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।