भदाै २४ गाेरखा । बारपाक सुलिकोट गाउँपालिकामा अति सिमान्तकृत बराम समुदायको सशक्तिकरण कार्यक्रमका लागि यो बर्ष एक करोड रुपैया बजेट बिनियोजन भएको छ । संघिय सरकारको बिशेष अनुदान कार्यक्रम अन्र्तगत बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको सशक्तिकरणका लागि अनुदान रकम प्राप्त गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
अति सिमान्तकृत जाती भित्र पर्ने बराम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा उनिहरुको आर्थिक तथा सामाजिक बिकास लागि पहिलो पटक संघिय सरकारबाट अनुदान कार्यक्रम प्राप्त भएको हाे । प्राप्त रकम बराम समुदायको आर्थिक सामाजिक तथा जिविकोपार्जन कार्यक्रममा खर्च गरिने पालिकाकाे याेजना रहेकाे अध्यक्ष भट्टले बताए । ‘यो बर्ष आएको एक करोड रकमले पालिका भित्र रहेका बराम समुदायको आर्थिक आयआर्जन बृद्धि हुने खालका कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले प्राथामिकता दिइने छ ।
‘बिशेष गरी बाख्रा पालन, कुखुरा पालन, तरकारी तथा फलफुल खेती र सिपमुलक तालिमका शिर्षकमा बजेट खर्च गर्ने योजना गाउँपालिकाले बनाएको छ,। त्यस बाहेक सचेतना कार्यक्रम तथा सामुदायिक भवन निर्माणका लागि प्रस्ताव गरेका थियौ तर त्यसका लागि भने बजेट बिनियोजन हुन सकेन ।’ गाउँपालिकाले पहिलो पटक चालु आर्थिक बर्ष २०७७/०७८ बराम समुदायका सशक्तिकरणका लागि यति ठूलो बजेट ल्याउन सफल भएको उनकाे भनाई छ ।
प्राप्त बजेट आउदो असोज महिनादेखि नै कार्यान्वयनमा लैजाने गरि गाउँपालिकाले काम थालेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । ‘बारपाक सुलिकोट गाउँपालिका भित्र ८ हजारभन्दा बढी बराम समुदाय बसाेबास रहेकाे र टोलटोलमा समुह गठन गरी लक्षित समुदायको पनि अधिकत जनताले उपयोग गर्ने गरी कार्यक्रम छनोट गर्ने याेजना रहेकाे अध्यक्ष भट्टले बताए ।




