कविता मेरो बँचाई

-


     मनासलु     
     भाद्र २७ गते २०७७ मा प्रकाशित


कविता : “मेरो बँचाइ”

म ; रङ्ग उडेको-
रङ्गहीन एउटा कागजको टुक्रा,
प्रयोग नहुनु नै मेरो परिचय हो!
खाली हुनु नै मेरो पहिचान हो।

अनगिन्ती पैतालाहरुले –
मलाई पटकपटक टेकेर गइसके
तर अफसोच ! मलाई कसैले चिन्दैनन्।

म हरेक आकारबाट- टुक्रिदै- टुक्रिदै
अन्त्यमा कसिङर बनेको हुँ
मैले आँखामा पस्न सकिन भने,
मेरो अस्तित्व सकिने छ!
मेरो पहिचान मेटिने छ
र मेरो परिचयको नाम हराउने छ।

बढारेर मलाई रछ्यानमा फ्याँक्नु –
मैले शीर उचालेर बाँच्नु हो
मैले आफ्नै महत्वलाई व्यापक फैल्याउनु हो।

म अस्तित्व गुमेर झरेको पत्कर!
जसलाई तिमी- हरेक दिन टेकेर जान्छौ,
पत्कर न हुँ-
कहिँ ; केही सजाउन सकिँदैन यसले
बरु उल्टो शोभा घटाउछ तिम्रो जिन्दगीको।

न बाटो नै रोकिन्छ पत्करले
न त पानी नै छेकिन्छ पत्करले
कुल्चिएर जान्छन् हिँड्नेहरुले
बगाएर लैजान्छ पानीले।

पत्कर भनेको-
फिरफिरे हावाले पनि,
जताभाबी उडाउनु रहेछ
र…, पत्कर भनेकै – मूल्यहीन रहेछ,
बिचरा! पत्करको जिन्दगी।

उस्तै लाग्छ एक टुक्रा कागजको जिन्दगी
र समयले उस्तै बनायो मलाई पनि-
कागजको टुक्रा र पत्करको जिन्दगी।

केही कथम चैतको मौसममा –
तिमीले पिइ सकेर फ्याँकेको
अन्तिम चुरोटको ठुटो मात्रै भेट्यो भने
सारा रानी वन जलाएर खारानी बनाउन सक्छ।

बस यति चाहिँ याद राख!
मान्छे भएर बाँचेको छु भन्नेहरुले।

मलाई त केही छैन,
कहिले एक टुक्रा कागज भएर बाँचेको छु
कहिले पत्कर भएर बाँचेको छु।

राम योन्जन“गाउँले´´