कोभिड–१९ को चुनौतीलाई अवसरमा बदल्न विश्वभरिका शिक्षकहरुलाई प्रचण्डको अपील

-


     मनासलु     
     असाेज ५ गते २०७७ मा प्रकाशित


असोज ५, काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ ले निम्त्याएको बहुआयमिक चुनौतीलाई अवसरमा बदल्न शिक्षकहरुले प्रयास गर्नुपर्ने बताएका छन्। सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित ‘कोभिड–१९ ले शिक्षा र शिक्षक कर्मचारीहरुमा पारेको असर’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘‘कोभिड–१९ को महामारी हाम्रा लागि चुनौती त हो नै। तर, यो चुनौती मात्र नभएर अवसर पनि हो। हामीले चुनौतीकै बिचबाट नयाँ सोंच, प्रणाली र व्यवस्थाको विकास गर्न सक्छौं। कोभिड–१९ पनि त्यस्तै एउटा चुनौती हो, जसलाई अवसरमा बदल्न हामी सबैले कोशिस गर्नुपर्दछ।’’

प्रचण्डले कोभिड–१९ ले शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार पारेको बताए। विश्वका विभिन्न देशका शिक्षक नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘‘यो हाम्रा लागि अवसर पनि हो, शिक्षालाई प्रविधिमैत्री र प्रयोगात्मक बनाउन यस्ता चुनौतीले सम्भावना पनि सँगै बोकेर आएका हुन्छन्, हामीले यसलाई अवसरमा बदल्न सक्नुपर्छ। यसले हाम्रो सोच्ने तरिका, प्रणाली र व्यवस्थापनका क्षेत्रमा पनि नयाँपनको ढोका खोलेको छ। त्यसका लागि हामी सबै तयार होऔं र मिलेर चुनौतीको सामना गरौं।’’

नेपालमा समाजवादउन्मुख संविधान निर्माण भएको जानकारी दिँदै प्रचण्डले भने, ‘‘हामीले लामो संघर्षपछि नयाँ संविधान निर्माण गरेका छौं। हाम्रो संविधान समाजवादउन्मुख छ। हामीले शिक्षा, स्वास्थ्य लगायत नागरिकका आधारभूत आवश्यकतालाई संवैधानिक हकका रुपमा सुरक्षित गरेका छौं। राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिने गरी हामीले तयारी गरिरहेका छौं। यस दिशामा हामी सफल हुनेछौं।’’

प्रचण्डले कोभिड–१९ विश्व पुँजीवादी व्यवस्थाको बिकल्पका रुपमा अगाडि आएको बताए। उनले भने, ‘‘कोभिड–१९ एउटा महामारी मात्र होइन, यो पुँजीवादी व्यवस्थाको असफलता हो। यो पुँजीवादी विश्वले आजका चुनौतीको सामना गर्न सक्दैन भन्ने कुराको प्रमाण हो। नयाँ विश्व व्यवस्थाले मात्र आजका चुनौतीहरुको सम्वोधन र व्यवस्थापन गर्ने सामर्थ्य राख्दछ। यसका लागि विश्वभरिका शिक्षक बुद्धिजीवीको ऐक्यवद्वता जरुरी छ।’’

सेमिनारमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को चुनौतीसँग जुध्न नेपालले शिक्षा क्षेत्रमा नयाँ नीति तर्जुमा गरिरहेको बताए। उनले भने, ‘‘हामीले कोभिड–१९ को चुनौती सामना गर्न नयाँ नीति तय गरिरहेका छौं। अनलाइन शिक्षण, अडियो, भिडियो लगायतका प्रविधिमार्फत् शिक्षण प्रक्रियालाई निरन्तरता दिन हामी सम्वेदनशील छौं। शैक्षिक क्षेत्रको गरिमा र भविष्य सुरक्षित गर्न र शैक्षिक सत्र कायम राख्न पाठ्यभारमा परिमार्जन गरेर भए पनि विद्यार्थीका निम्ति सहज वातावरण निर्माण गर्न हामी प्रतिवद्ध छौं।’’

भर्चुअल गोष्ठीमा बोल्दै विश्व शिक्षक संगठनका अध्यक्ष ओमिया कुमार महन्तीले विश्वले समाजवादी शिक्षा व्यवस्थाको माग गरिरहेको बताए। उनले भने, ‘‘कोभिड–१९ को महामारीबाट पुँजीवादी शिक्षा व्यवस्था असफल भएको प्रमाणित भइसकेको छ। अब समाजवादी शक्तिहरु एकतावद्व भएर समाजवादी शिक्षा प्रणालीको विकासका लागि एकतावद्व हुनुपर्छ। विचारका दृष्टिले पनि विश्वभरिका समाजवादी शिक्षकहरु एकतावद्व हुनुपर्छ। समाजवादी शिक्षकहरुको एकताले मात्र आजका चुनौतीलाई अवसरमा बदल्न सकिन्छ।’’

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कोभिड–१९ ले प्रविधिमैत्री शिक्षकका लागि अभिप्रेरित गरेको र नयाँ चुनौतीको सामना गर्न सरकार सक्षम हुनुपर्ने बताए। उनले निजी शैक्षिक संस्थाहरु बलशाली बन्दै जानु र संस्थागत विद्यालयहरु कमजोर बन्दै जानुको कारणबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

गोष्ठीमा विश्व शिक्षक संगठनका उपाध्यक्ष महेन्द्र जयसिंघेले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमध्ये शिक्षा क्षेत्र प्रमुख रहेको र इन्टरनेट, स्मार्ट फोन लगायतको प्रविधिको अभावमा विद्यार्थीहरु अनलाइन शिक्षाको अवसरबाट बञ्चित हुनुपरेको बताए। उनले शिक्षालाई भौतिक वस्तुका रुपमा किनबेच गर्ने पुँजीवादी व्यवस्थाले आजका चुनौतीहरुको सामना गर्न नसक्ने बताउँदै त्यसको बिबकल्प अनिवार्य भएको बताए।

कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा, राष्ट्रिय प्राध्यापक संगठनका संयोजक प्रा.डा. रमेशप्रसाद भट्टराई लगायतले नागरिकको आर्थिक जीवन कमजोर हुँँदा त्यसको प्रत्यक्ष प्रभाव प्रविधिमैत्री शिक्षामा पर्ने बताए। त्यसैगरि एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले विश्वभरिका शिक्षकहरुसँग सहकार्य गरी कोभिड–१९ का चुनौतीहरुको सामना गर्न अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको बताए।

कार्यक्रममा बंगलादेश, हङकङ, श्रीलंका, युके, भारत, नेपाल, ग्रीस, मेक्सिको लगायतका देशका शिक्षक नेताहरुले कोभिड–१९ ले विश्वव्यापी रुपमा पारेको प्रभावका विविध आयामहरुको चर्चा गरेका थिए।