
एजेन्सी । युएईमा जारी १३औं इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।
सारजाहमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो ।
मुम्बईको जितमा इशान किशनले अविजित रहंदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे ।
त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए ।
चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । साम करणले चेन्नईको इनिङ्स उकासेका थिए ।
करण र ताहिरले नवौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । जुन साझेदारी आईपीएल इतिहासमा नवौं विकेटका लागि भएको उच्च साझेदारी हो ।
रविन्द्र जडेजा ७ रनमा आउट हुँदा अम्बाती रायडु २ र फाप डु प्लेसिस १ रनमा आउट भए ।
चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए ।
राहुल चाहर र जस्प्रित बुम्राहले २, २ विकेट लिए । कल्टर निलको नाममा १ विकेट रह्यो ।
यो जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।
त्यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।
चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो ।
त्यस्तै आईपीएलको इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।




