गोरखा । आज देखि नेपाली सेनाले गोरखा–काठमाण्डौं एकिकरण पदयात्रा सुरु गरेकाे छ । पृथ्वी जयन्तीको अवसरमा आगामी यात्रा सुरु गरेकाे हाे ।

‘ऐतिहासिक महत्व बोकेको यस गोरखा जिल्लाबाट धादिङ,नुवाकाेट हुँदै २६ गते टाेलि काठमाण्डाै पुग्नेछ । गत वर्षको पुस १८ गते हामीले पहिलो पटक सफलता पूर्वक पदयात्रा सम्पन्न गरेका थियौं,’ नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले भने, ‘यस वर्ष पनि त्यहीँ कार्यक्रमको निरन्तरता हो ।’
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा गर्न लागेको हो । पुस २७ गते काठमाण्डौंको सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन नेपाली सेनाको टोली गाेरखाबाट हिडेकाे हाे । एक विशेष कार्यक्रमका साथ गोरखा दरबार परिसरमा रहेको हुनमान चौताराबाट बिहान ८ बजे एक कार्यक्रम गरी उक्त टोलीलाई बिदाइ गरिएकाे छ ।

‘टर्च, नेपालको झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्केकाे छ’ केसीले भने ‘उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका सैनिकहरु परम्परागत पोशाकमा रहेका छन।’
पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौताराबाट गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, धादिङ नुवाकोट हुँदै काठमाण्डौ पुग्नेछन् । उनीहरुलाई विभिन्न ठाउँमा साँस्किृतिक झाकी सहित स्वागत एवं सम्मान गर्ने कार्यक्रम समेत हुनेछ ।
गोरखाबाट गएको टोलीले बोर्लाङघाट पुर्याएपछि धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्छ । धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौको टोलीलाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ‘रिले दौड जस्तै गरी २१ गते गोरखाबाट लगिएको टर्च र झण्डा २६ गते काठमाण्डौंको कार्यक्रममा पुर्याइन्छ’ केसीले भने ‘यसको मुख्य उदेश्य नै ऐतिहासिक पदमार्गको प्रर्वद्धन गर्नु हो ।’

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा काठमाण्डौं जान प्रयोग गरेको बाटोलाई एकिकरण पदमार्ग बनाउने सरकारको योजना छ । राष्ट्रिय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ ।
छरिएर रहेका राज्यहरुलाई एकिकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालिन बाटोलाई पदमार्ग बनाएर पर्यटन पर्वद्धन गर्न लागिएको हो ।
यात्रा सुरु गर्नु अघि हनुमान चाैतारामा आयाेजित कार्यक्रमलाइ गाेरखा नगरपालिका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइ लगायतले यात्रा सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।






