
गाेरखा । बाढी र पहिराेका कारण त्रिपालकाे बासमा परेकाे चुमनुब्री गाउँपालिकाका नागरिकहरुलाइ अन्धकारमा बस्नुपर्ने बाध्यता परेकाे छ । दुधपाेखरी खाेलाबाट भालुबनमा पानी सङ्कलन गरी जगतमा पावरहाउस निमार्ण गरेर निकालिएकाे बिजुलीकाे टर्वाइन घुम्न छाडेपछि आजबाट यहाँका भालुबन, जगत, सल्लेरी र उहियाका केही गाउँहरु अन्धकारमा परेका छन् । बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको हाे ।
३८ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजनामा बाढिले क्षति पुगेको र टर्वाइनले काम गर्न छाडेको स्थानीय बिरबल घलेले जानकारी दिए । फाेनले काम नगरेकाे समयमा बिजुली समेत गएपछि त्यस क्षेत्रमा सम्पर्क विच्छेद भएकाे उनले बताए ।
अन्धकार भएपछि बालवालिका, सुत्केरी र वृद्धवृद्धालाई अझै समस्या भएको अर्का स्थानीय क्याप्टेन गुरुङले बताए ।
एक दशक अघि कादुरीले निर्माण गरेकाे उक्त लघुजलविद्युत आयाेजना स्थानीय नागरिकहरुले सँरक्षण गरी प्रयाेग गर्दै आएका थिए । विद्युद मर्मत गरेर सञ्चालनमा ल्याउन समय लाग्ने स्थानीयहरुकाे भनाइ छ ।





