
भदाै १३, गाेरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१, सामागाउँमा काठेपुलबाट चिप्लिएर खोलामा खस्दा एक पुरुष बेपत्ता हुनुभएको छ । खङ्सार स्थित ध्याल्वो खोला माथिको काठेपुलबाट चिप्लिएर खस्दा स्थानीयबासी ३२ बर्षका धावारेतार लामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।
ग्याला लेकबाट घोडा चराएर फर्कने क्रममा काठेपुल तर्दै गर्दा लामा खोलामा खसेको स्थानीयबासीको भनाई उद्धृत गर्दै डिएसपी दाहालले बताउनुभयो । बेपत्ता लामाको खोजीका लागी सामागाउँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको उनकाे भनाई छ । घटनास्थलमा स्थानीयबासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको डिएसपी दाहालले जानकारी दिए ।
लामा बेपत्ता भएपनि घोडा भने सकुसल अबस्था रहेको पाइएको उनकाे भनाई छ । घटना भएको खोला मनास्लु तालबाट बगेको ठाडो खोला रहेको र नजिकै बुढी गण्डकीमा मिसिएको उनले बताए । करिब १ सय मिटर लामो रहेको उक्त काठेपुलमा निरन्तर बर्खा भइरहेकाले लेउ लागेर चिप्लो भएको स्थानीयबासीको भनाई छ ।





