शहिदलखनका ४५ विद्यालयमा एकसाथ विद्यालय व्यवस्थापन समिति गठन

-


     मनासलु     
     मंसिर १५ गते २०७८ मा प्रकाशित


गाेरखा । शहिद लखन गाउँपालिका भित्र रहेका ४५ वटा विद्यालयमा एकसाथ समिति गठन प्रक्रिया अघि बढेकाे छ । पालिका भित्र रहेका ४६ वटा विद्यालय मध्य म्याद सकिएका ४५ वटा विद्यालयहरुकाे विद्यालय व्यवस्थापन समिति मँसिर १४  गतेबाट गठन प्रक्रिया अघि बढेकाे हाे ।

शहिद लखन गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७८/०७/२६ काे निर्णयानुसार शहिद लखन गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा मिति २०७८/०८/१४ र १५ गते एकसाथ विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, छिमेकी विद्यालयका शिक्षक र कर्मचारि वा गाउँ शिक्षा समिति सदस्य गरि ३ सदस्यीय सहजीकरण समिति निर्माण गरि शिक्षा ऐनकाे दफा १२ उपदफा १ क बमाेजिम “अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना सदस्य” छनाैट गरेकाे हाे ।

मँगलबार २२ विद्यालयमा अभिभावक भेला सम्पन्न भएकाे छ। भेलाबाट समितिकाे चयन भएकाे पालिका भित्र रहेका विद्यालयहरुले जानकारी दिएका छन् ।

आज बुधबार २१ विद्यालयमा समिति गठनकाे प्रक्रिया अघि बढ्ने शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।  दुइ वटा विद्यालयमा प्रधानाध्यापकहरु विरामी परेका कारण केही समय पछि मिति तय गरिने उनले बताए ।

शिक्षा क्षेत्रकाे विकास विना अन्य विकास सम्भव नदेखेकाे शहिदलखन गाउँपालिकाले शिक्षकहरुलाइ तालिम प्रदान गर्ने, विद्यालयमा अनिवार्य कम्प्युटर कक्षा लागु गर्ने, विद्यालय व्यवस्थापन समितिलाइ तालिम दिने र विद्यालयकाे विकासका लागि उत्तरदायि बनाउने कार्यमा अग्रसर हुँदै आएकाे छ । पालिकाले दरबन्दी मिलान गरी शिक्षक अभाव भएका स्थानमा स्वम्सेवक शिक्षक खटाइ शिक्षण गराउँदै आएकाे छ ।

पालिकाले विद्यालयमा पत्रु खाना पूर्ण रुपमा निषेध गरेकाे छ । बालबालिकाहरुकाे दिवा खाजाका लागि अनिवार्य रुपमा स्थानीय स्तरमा उत्पादन भएका पाेषणयुक्त खानेकुरा मात्र खुवाउन निर्देशन गरि कार्यन्वयन गर्दै आएकाे पालिकाले जनाएकाे छ ।