
तस्वीर : उत्तमबाबु श्रेष्ठ
गोरखा । दरौंदी नदिबाट पम्पिङ गरिएको पानी गोरखा बजार क्षेत्रमा वितरण थालनी गरिएकाे छ । दरौंदी गोरखा बृहत लिफ्टिङ खानेपानी आयोजनाले परिक्षणका रुपमा पानी पम्प गरेर वितरण गर्न शुरु गरेको हो । आगामी दुई सातासम्म परिक्षणका रुपमा पानी तानेर वितरण गर्ने र त्यसपछि नियमित रुपमा ग्राहकको घरघरमा पानी पुर्याउने याेजना रहेकाे उपभाेक्ता समितिका अध्यक्ष बद्रि बहादुर मास्केले बताए ।
गोरखा नगरपालिका वडा नम्वर ३ जरेवरस्थित मुहानदेखि गोरखा दरवार माथिको उपल्लोकोटसम्म पानी तानेर वितरण गरिएकाे उनले बताए । यस अघि विद्युत अभावमा पानी वितरण गर्न कठिनाइ भएकाे थियाे ।
करीव ४५ करोड रुपैयाँको लागतमा आयोजनाको निर्माण पूरा भएकाे र आयोजनाले चौबिसै घण्टा प्रति सेकेन्ड ३१ लिटर पानी तान्न सक्ने भएकाले जिल्ला सदरमुकाममा अब पानी अभावको समस्या नहुने विश्वास लिइएको छ ।
यस अघि जिल्लामा साना शहरि खानेपानी, कर्णेखाेला खानेपानी लगायतका आयाेजनाले बजार क्षेत्रमा पानी वितरण गर्दै आइरहेका थिए ।




