
गोरखा, १५ बैशाख । गोरखाका सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
उम्मेद्वारको मनोनयन फिर्ता लिने अघिल्लो दिन आज बिहान बसेको गठबन्धन संयन्त्र बैठकले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
यस अघि गठबन्धन दलहरु पटक पटक छलफलमा जुट्दाँ पनि गठबन्धन गरेर चुनावमा जाने भन्ने विषयमा निष्कर्ष निकाल्न नसके पछि र केन्द्रको निर्देशन पश्चात पनि सहमति नजुटेकाले स्थानीय तह निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको जनाएको छ ।
केन्द्रिय गठबन्धनको बुधवारको बैठकले गरेको निर्णय अनुसार चुनावका लागी गोरखाको कुनै पनि तहमा गठबन्धन बाहेकका दलहरुसँग तालमेल नगर्ने निर्णय पनि गरिएको छ । गठबन्धन दलहरु बिच सहमतिका लागि आगामी दिनमा छलफल जारी राख्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा गठबन्धन संयन्त्रका संयोजक एवम् नेपाली काँग्रेसका सभापति नन्दप्रसाद न्यौपाने एवम् सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टको सहभागीता रहेको थियो ।
यस्तै संयन्त्र सदस्य बाहेक बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य परशुराम रम्तेल, जसपाका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल, नेकपा एसका जिल्ला इन्चार्ज जुद्धविलाश भण्डारी र नेपाली काँग्रेसका जिल्ला सचिव किशोरजंग थापा पनि सहभागीता रहेकाे थियाे ।







