जनतालाई शासन होइन, सेवा दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाइ मतदान गर्न आह्वान

-


     मनासलु     
     वैशाख १७ गते २०७९ मा प्रकाशित


गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), शहिद लखन गाउँपालिका पार्टी कमिटीले पालिकामा गर्ने कामकाे घाेषणापत्र सार्वजनिक गरेकाे छ । यस अघि पनि शहिदलखन गाउँपालिकामा मा‌ओवादी पार्टीकाे नेतृत्व रहेकाे थियाे । शहिदलखन गाउँपालिका गण्डकी प्रदेशमा प्रथम र नेपालमा चाैँथाे कम बेरुजु भएकाे पालिका रहेकाे छ । राष्ट्रिय प्राकृतिक वित्त आयाेगकाे मूल्याङ्कनमा उक्त गाउँपालिका गाेरखा जिल्ला प्रथम भएकाे थियाे । पालिका प्रथम हुँदा पालिकामा याेजना तथा बजेटकाे सँख्यामा वृद्धि हुने र यहाँका नागरिकहरुका लागि सेवा थप हुने बित्त आयाेगका कर्मचारीहरु बताउँछन् ।

माओवादी पार्टीबाट रमेशबाबु थापा मगरले नेतृत्व गरेकाे उक्त पालिकाकाे घाेषणा पत्र र प्रतिबद्धता पत्र निम्न अनुसार मनासलु डटकमलाइ प्राप्त भएकाे छ ।

तल उल्लेखित पत्रमा धेरै राम्रा कामहरुकाे बारेमा लेखिएकाे भएपनि केही लाइनहरुलाइ कलर गरिएकाे छ ।

कृषि, पर्यटन र पूर्वाधारको दीगोपनः संमृद्ध, सुसंस्कृत शहिद लखन

आदरणीय जनसमुदायहरु,
वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएसँगै मुलुकले संघीय शासन प्रणालीको अभ्यास सुरु गरेको छ । यो संविधान जारी भएसँगै नेपाल तीन तहको राज्य संरचना सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरण भएको छ ।संविधानले नेपालको परम्परागत राज्य संरचना र शासकीय प्रणालीमा परिवर्तन गर्ने र नागरिकको अधिकारलाई स्थापित गरी समाजवाद उन्मुख राज्य निर्माण गर्ने संकल्प गरेको छ । विगतका राज्यसत्ता तथा प्रणालीले सृजना गरेका विभेद र उत्पीडनलाई अन्त्य गर्दै नेपाललाई समावेशी राज्य व्यवस्थामा रुपान्तरण गर्ने, नागरिकका मौलिक हकको सुरक्षा गर्ने, सामाजिक एकता र सहिष्णुता कायम गर्ने लगायतका महत्वपूर्ण प्रतिवद्धता संविधानमा रहेको छ ।
वि।सं। २०७४ बैशाख देखि मङ्सिर सम्मको अवधिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित जनप्रतिनिधिहरुले सरकार संचालन गरेपछि संघीयताको पूर्ण कार्यान्वयन प्रारम्भ भयो र हाल मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने चरणमा रहेको छ ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहमा राज्यशक्तिको वाडँफाडँ गरी स्थानीय तह समेतको अधिकार र क्षेत्र तोकेको छ । संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई राजनीतिक तथा प्रशासनिक अधिकार प्रयोग गर्न सक्ने स्वायत्तता प्रदान गरिएको छ ।स्थानीय तहहरु आफ्ना अधिकार, प्रतिनिधित्वको व्यवस्था, क्षेत्रगत कार्यादेश, भौगोलिक क्षेत्र तथा राजनीतिक, प्रशासनिक र सेवा प्रवाहमा रहेको भूमिकाको दृष्टिकोणले बढी अधिकार तथा जिम्मेवारी सहित स्थानीय सरकारका रुपमा स्थापित भएका छन् । संवैधानिक अधिकारले स्थानीय तहको सवल भूमिका अपेक्षा गरेको छ । नागरिकको नजिक रहने र उनीहरुका दैनिक कामकाजका साथै विकास निर्माण र आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधि एवंम् सरोकारमा प्रत्यक्ष संग्लनता रहने हुनाले स्थानीय तह नेपालको लोकतन्त्रको आधारभूत अंग हुन् । स्थानीय तहले समग्र देशको संवृद्धि र सामाजिक न्याय हासिल गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ र खेलिरहेका छन् ।
नेपालको संविधानले स्थानीय तहको भूमिका र क्षेत्र तोकिदिएको छ । यसमा मुख्यतः स्थानीय तहका एकल अधिकार र संघ तथा प्रदेश सँगका साझा अधिकार पर्दछन् । नेपालको संविधान अनुसार स्थानीय तहका अधिकारका विषय एकल अधिकार २२ बुँदा (अनुसूची–८) र साझा अधिकार १५ बुँदा (अनुसूची–९) गरी जम्मा ३७ बुँदामा समेटिएका छन् । यी एकल तथा साझा अधिकारका अतिरिक्त मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिका साथै प्रचलित अन्य कानुनबाट तोकिएका वा गरिदै आएका विषय पनि स्थानीय तहको जिम्मेवारीमा पर्दछन् ।

वि सं २०७४ वैशाख ३१ गतेको निर्वाचन पश्चात् शहिद लखन गाउँगाउँपालिका को जिम्मेवारी हाम्रो पार्टीका उम्मेदवारहरुले प्राप्त गर्यो । यस पश्चात् शहिद लखन गाउँगाउँपालिकाले संविधानमा उल्लिखित आठौं अनुसूचीको एकल अधिकारको प्रयोग गर्दै हालसम्म २ वटा नीति, २७ वटा ऐन, ४ वटा नियमावली, ४ वटा निर्देशिका १ वटा मापदण्ड, ३९ वटा कार्यविधिहरु निर्माण गरेका छौं । जसको माध्यमद्धारा नागरिकलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने र विकास निर्माणको काममा अगुवाइ गरी सुशासन मार्फत गाउँपालिका को संवृद्धि तथा न्यायपूर्ण समाज निर्माणका लागि मार्ग प्रशस्त भएको छ । स्थानीय पाठ्यक्रम निर्माण, आवधिक गाउँगाउँपालिका को प्रशासनिक भवन निर्माण, वडाका आफै वडा कार्यालय भवन निर्माण गरी सेवा प्रदान गर्नु स्थानीय सरकार जनताको तनमनमा रहन चाहन्छ भन्ने उदाहरण हो ।

स्थानीय जनताको चाहना र आवश्यकता अनुसार विकास संवृद्धि हासिल गर्ने उद्देश्यले हामीले यस ५ वर्षमा गरेका भौतिक पूर्वाधार, सामाजिक विकास र सु–शासनका कार्यहरु भोलिका लागि आधारशिला निर्माण भएका छन् । यसरी हिजो हाम्रै पार्टी माओवादी केन्द्रले सिंहदरबारको अधिकारलाई गाउँसम्म ल्याउने, गाउँपालिका र नगरगाउँपालिका को घोषणा गर्‍यो । त्यसैले अब जसको नीति उसको नेतृत्वलाई व्यहारमा कार्यन्वयन गर्न जनसमुदायमा हार्दिक अपिल गर्दछौं । यसै क्रममा शहिद लखन गाउँगाउँपालिका को हाम्रो पार्टीको भावी नीति तथा कार्यक्रम निम्नानुसार रहने छ ।

नीति तथा कार्यक्रमहरुः
१. जनसहभागितामूलक समावेशी लोकतन्त्र
हाम्रो गाउँगाउँपालिकामा जनसहभागितामुलक समावेशी समानुपातिक लोकतन्त्रको जिवन्त अभ्यासलाई थप मजबुत बनाइनेछ। हर निर्णयहरु लोकतान्त्रिक विधिसम्मत गरिनेछ । जनताको प्रत्यक्ष निगरानीमा जनप्रतिनिधिहरुलाई काम गर्ने व्यवस्था हुनेछ । स्थानीय सरकारको पहिलो कार्यकालमा एक उदाहरणीय अभ्यासको रुपमा अवलम्वन गरिएको असल राजनीतिक संस्कार र सहिष्णुतालाई आत्मसाथ गर्दै नागरिकको अमूल्य मत मार्फत निर्वाचित हुने जुनसुकै विचारको प्रतिनिधित्व गर्ने जनताका प्रतिनिधिहरुलाई गाउँपालिकाको हरेक नीति निर्माण र कार्यान्वयनमा बिना पूर्वाग्रह प्रत्यक्ष सहभागिताको वातावरण बनाइनेछ ।

२. सार्वजनिक प्रशासन र सार्वजनिक सेवा
क. गाउँपालिका को प्रशासनिक सेवालाई अधिकतम छिटो, छरितो, पारदर्शी, जन सेवामूलक र भ्रष्टचारमुक्त गराईनेछ ।
ख. जनतालाई शासन होइन सेवा दिने संस्कारलाई प्रोत्साहित गरिनेछ ।
ग. सार्वजनिक सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै अनलाइनबाट सेवा प्रवाहको व्यवस्था मिलाइनेछ।
घ. अनलाइनबाट नै सेवाको प्राप्तिको निवेदन दिई घरबाट नै सेवा लिन सकिने व्यवस्था मिलाइनेछ ।
ङ. सार्वजनिक सेवा प्रदान गर्दा असक्त, अपाङ्ग, वृद्ध वृद्धा तथा भौगोलिक रुपमा टाढाबाट आएका सेवाग्राही गाउँपालिकाबासीहरुलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
च. सेवाग्राहीहरुसँग समय समयमा परामर्श, अन्तक्रिया र सर्वेक्षण गरी सेवा प्रवाहमा गुणात्मक सुधार गरिनेछ।
छ. सिफारिस, राजस्व सेवा, घर नक्सा ईजाजत जस्ता सेवाहरु विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था गरिनेछ।
ज. स्थानीय सेवालाई प्रभावकारी बनाउन गाउँगाउँपालिका द्बारा स्वीकृत नयाँ संगठन संरचनाको आधारमा कर्मचारी व्यवस्थापन गरिनेछ ।
झ. गाउँपालिकामा कार्यरत सबै प्रकारका स्थायी सेवाका कर्मचारीहरुको वृति विकासको अधिकारलाई सुनिश्चित गर्न संघ र प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले आवश्यक व्यवस्थापन गर्नेछ ।
ञ. गाउँपालिकामा कार्यरत अस्थायी सेवाका कर्मचारीहरुको क्षमता विकास तथा सेवा सुविधालाई आकर्षक बनाइ सहज कार्य वातावरण बनाइनेछ ।
ट. हरेक सार्वजनिक संरचनाहरुलाई अपाङ्गतामैत्री बनाउँदै लगिनेछ ।

३. विकास योजना र भौतिक पूर्वाधार
क. हामीले गाउँपालिकाद्बारा निर्मित प्रथम पञ्चवर्षीय आवधिक विकास योजनालाई आधार योजनाको रुपमा मानि २० वर्षे दीर्घकालिन योजना बनाएर गाउँपालिकामा भएका सबैखाले स्रोत साधनहरु (प्राकृतिक र मानवीय) प्रयोग गरेर आत्मनिर्भर बनाउँदै लगिनेछ ।
ख. नदी जन्य स्रोतहरु (ढुङ्गा, गिट्टी, बालुवा) को समुचित प्रयोग र विक्री वितरणलाई व्यवस्थित बनाईनेछ ।
ग. बनजंगलको संरक्षण र उपयोग, पर्यटन क्षेत्रको विकास र आयलाई व्यवस्थित गरिनेछ ।
घ. स्थानीय कर प्रणालीलाई व्यवस्थित गर्न बन्द ब्यापारको प्रवर्द्धन गर्दै करको दर घटाउँदै क्रमशः करको दायरा विस्तार गर्दै लगिनेछ ।
ङ. समग्र गाउँपालिका क्षेत्रको विकासका लागि दीर्घकालीन विकास योजना र आवधिक योजना अनुरुप गुरुयोजना (Master Plan ) वनाई दीगो र व्यवस्थित विकास गरिनेछ ।
च. गाउँपालिका मा केन्द्र, प्रदेशबाट प्राप्त हुने बजेटलाई समानुपातिक र समुचित विकासको अल्पकालिन र दीर्घकालिन योजना बनाएर लगिनेछ ।
छ. गाउँपालिका स्तरको अन्य आर्थिक वृद्धिको सम्भावनाको खोजी गरेर विकास कोष खडा गरिनेछ ।
ज. केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधारहरुको विकास आयोजनाहरु लागु गर्न पहल गरिनेछ।
झ. बूढीगण्डकी जलविद्युत परियोजनाको कार्यान्वयनका क्रममा विस्थापित हुने स्थानीय वासिन्दाहरुको हकमा मिति २०७३ साल मंसिर ११ गते बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण समितिका अध्यक्ष तथा गोरखा जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्ट ज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई कार्यान्वयन गर्न सहजिकरण गरिनेछ ।

 सडकः
क. आगामी ५ वर्षको अवधिमा गाउँपालिका भित्रका मुख्य सडकहरु कालोपत्रे गरिनेछ ।
ख. सबै टोल वस्तिहरुमा पुगेका सडकहरुमा ग्रावेल, व्यवस्थित नाला, आवश्यक ठाउँमा टेवा पर्खाल निर्माण गरी बाह्रै महिना सहज तरिकाले यातायातका साधन सञ्चालन हुन सक्ने गरी व्यवस्था मिलाइनेछ ।
ग. सडक निर्माणका कारणले क्षति भएका खानेपानीको श्रोत, कृषि भूमि, वस्ती क्षेत्र र पर्यावरणीय क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन मिलाइनेछ ।

 दीगो नगररवस्ती विकास योजनाः
क. गाउँपालिका को समग्र भू-भागलाई नगररवस्ती क्षेत्र, पर्यटन क्षेत्र, औधोगिक क्षेत्र, कृषि क्षेत्र र पर्यावरण क्षेत्रमा वर्गिकरण गरी स्थानीय र क्षेत्रको आवश्यकता र संभावनाको आधारमा व्यवस्थित विकास गरिनेछ।
ख. नगररवस्ती क्षेत्रमा गुणस्तरीय सडक, स्वच्छ खानेपानी, विद्युत, खेलमैदान, हरियाली र फूलको बँगैचा सहितको पार्क, स्वास्थ्य संस्था, पुस्तकालय, विद्यालय, सभाहल, पार्टी प्यालेस, इन्टरनेट तथा स्थानीय सार्वजनिक यातायातको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
ग. गाउँबाट शहर र पहाडबाट तराई तर्फ भइरहेको बढ्दो बसाइसराइको समस्यालाई रोक्न गाउँगाउँपालिका भित्रका वस्तिहरुमा आधुनिक सुविधा सहितको गाउँ टोल विकासमा लगानीलाई प्राथमिकीकरण गरिनेछ ।
घ. हाम्रा गाउँगाउँपालिकामा छिरलिएका बस्तीहरुलाई एकीकृत र ब्यवस्थित पार्दै लगिनेछ ।

४. पर्यटन क्षेत्रः
क. ऐतिहासिक, धार्मिक, पूरातात्विक, साँस्कृतिक महत्व र प्राकृतिक सुन्दरता रहेका भू-भागलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
ख. पर्यटकीय क्षेत्रमा मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि ठाउँ विशेष ऐतिहासिक क्षेत्र तथा किल्लाको विकास, मन्दिर एवं धार्मिक सम्पदाको संरक्षण सम्बर्द्धन, मौलिक भेषभुषा, तथा संस्कृतिको संरक्षण, प्राकृतिक रुपमा भ्यूप्वाइन्टका रुपमा रहेका डाँडा र टाकुराहरुको विकास, पर्यापर्यटनको विकास गरी पर्यटकीय केन्द्रको रुपमा विकास गरिनेछ ।
ग. पर्यटकीय क्षेत्रका स्थानीय वासिन्दाहरुलाई पथ प्रदर्शक, होटल व्यवसाय सञ्चालन, मौलिक संस्कृतिको प्रस्तुती गर्ने कलाकार, दैनिक जीवन तथा सजावटका सामग्री बिक्री वितरण गर्ने बिक्रेताको रुपमा स्वरोजगार हुने र ती पेशा व्यवसायमा सहयोग गर्न रोजगार प्राप्त गरी आयआर्जन गर्ने र आर्थिक विकासको व्यवस्था मिलाइनेछ ।
घ. पर्यटकीय क्षेत्रहरुमा गुणस्तरीय सडक, हरियाली व्यवस्थित पार्क, पर्यटन सूचना केन्द्र तथा व्यस्थापन केन्द्र, फोहोरमैला व्यवस्थापन, विश्रामस्थल, सार्वजनिक शौचालय, पुस्तकालय जस्ता आवश्यक पूर्वाधारको व्यवस्था मिलाइनेछ ।
ङ. गाउँपालिका भर पर्यटन व्यवसायको सम्भवनाका लागि गुरुयोजना (Master Plan) निर्माण गरिने छ ।
च. प्रसिद्ध तिर्थस्थल मनकामना मन्दिर क्षेत्र, प्रथम शहीद लखन थापा मगरको बिद्रोही किल्ला जस्ता धार्मिक र ऐतिहासिक धरोहरहरुको संरक्षण, विकास र प्रर्वधनलाई विशेष प्राथमिकतामा राखिनेछ ।
छ. सामुदायिक होमस्टेहरुको व्यवस्वथापन तथा प्रर्वद्धन गरिनेछ।
ज. वडा नं. २ मनकामनामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। सो सूचना केन्द्रबाट गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारी तथा प्रचार प्रसारको काम गरिनेछ।

५. औधोगिक क्षेत्र र विकास
क. गाउँगाउँपालिका को क्षेत्रभित्र स्थानीय कच्चा पदार्थमा आधारित र बजारको उच्च सम्भावना भएको र सजिलै छिट्टै नाफा कमाउन सकिने प्रकारका मझौला र साना घरेलु उद्योगको विकास गरिनेछ । व्यवसायिक कृषि फर्म एवं बाख्रा, भैँसी, सुँगुर, कुखुरा जस्ता पुशुपन्छी व्यवसायको विकास र विस्तारका लागि ज्ञान, सीप, सहूलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था गरी घर घरमा उद्यम, आर्थिक रुपमा सक्षम गाउँपालिका बनाइने छ।
ख. प्राङगारिक कृषि खेतिलाई बढावा दिई मलमा आत्मनिर्भर बन्ने कार्यलाई प्राथमिकतामा राखिनेछ । समयमा नै रासायनिक मलको व्यवस्था गरिनेछ ।
ग. औधोगिक क्षेत्र तथा उद्योग ग्रामहरुको विकास एवं त्यस्ता क्षेत्रहरुमा आवश्यक पूर्वाधारहरुको व्यवस्था गरिनेछ ।
घ. उद्योग व्यवसाय सञ्चालनका लागि लगानीमैत्री नीति तथा कार्यक्रम ल्याइनेछ ।
ङ. उत्पादित वस्तु तथा सामग्रीहरुको उपयोग तथा बिक्रीका लागि गाउँपालिका का वासिन्दाहरुलाई आकर्षित गर्ने र गाउँपालिका बाहिर समेत निर्यात गर्न आवश्यक समन्वय, सहजीकरण एवं व्यवस्थापन गरिनेछ ।
च. औधोगिक क्षेत्र एवं उद्योग ग्रामका लागि आवश्यक सीप विकासका कार्यक्रम तथा तालिम सञ्चालन गरी गाउँगाउँपालिका भित्रका जनशक्तिलाई नै पहिलो प्राथमिकता दिई रोजगारी दिने व्यवस्था गरिनेछ ।
छ. हरेक टोल र घरहरुमा स्थानीय श्रोत साधन र बजारको संभावना भएका मौलिक सीपमा आधारित घरेलु उद्यमको विकास गरी आयआर्जन गर्न उचित बजार व्यवस्थापन गरिनेछ ।
ज. नयाँ सीप सिकाई घरेलु उद्यमलाई प्रोत्साहन गरी स्वरोजगारी तथा रोजगारी प्रवर्द्धन गरिनेछ ।
झ. सुर्तीजन्य र मदिराको व्यवस्थित उपभोग तथा व्यापारलाई उचित व्यवस्थापन गरिने छ।

६. शिक्षा विकास
क. गाउँपालिका भित्रका सवै विद्यालयहरुबाट संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने छ।
ख. सीपमूलक, प्राविधिक र रोजगारयुक्त शिक्षाको व्यवस्थालाई जोड दिइने छ।
ग. नैतिकता, सामाजिक भावना, राष्ट्रियता र सभ्यता अभिवृद्धि गरी सुसंस्कृत व्यक्ति परिवार र समाज निर्माणका लागि शैक्षिक संस्थाहरुलाई केन्द्रविन्दुका रुपमा विकास गरिनेछ ।
घ. सीप विकासका लागि शैक्षिक संस्था तथा तालिम केन्द्रहरुको व्यवस्था गरिनेछ ।
ङ. गाउँपालिका को खास खास केन्द्रहरुमा बाल शिशु स्याहार केन्द्रहरु निर्माण गरिनेछ ।
च. विद्यालय हरित कार्यक्रमलाई निरन्तरता दिइने छ।
छ. गाउँपालिका को खास खास स्थानहरुमा प्राविधिक शिक्षालयहरुको स्थापना गरी यस गाउँपालिका को नागरिकहरुलाई सर्वसुलभ, व्यवहारिक, वैज्ञानिक, प्राविधिक शिक्षा प्रदान गर्ने योजना निर्माण गरिनेछ ।
ज. शिक्षक दरवन्दी अपुग भएका विद्यालयहरुका स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिने छ।
झ. विद्यालयमा कार्यरत शिक्षकहरुलाई आवश्यक तालिमको व्यवस्थापनमा जोड दिइने छ।
ञ. प्रत्येक वडाका माध्यमिक तहका सामुदायिक विद्यालयहरुलाई आवासीय विद्यालयको विकास गर्दै लैजाने नीति लिईनेछ ।
ट. आर्थिक रुपले विपन्न, दलित, सिमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई उच्च शिक्षामा प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरिनेछ ।
७. सहकारीः
क. “सवल सहकारी, समृद्ध गाउँपालिका” निर्माणका लागि स्थानीय सम्भाव्यता, आवश्यकता र स्थापित मापदण्डका आधारमा सहकारी संस्थाहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन गरिनेछ ।
ख. सहकारीको विकासका लागि गाउँपालिका मा छुट्टै सहकारी विकास, प्रवर्धन तथा नियमन शाखा स्थापना गरि तालिम प्राप्त कर्मचारी व्यवस्थापनको पहल गरिनेछ ।
ग. सहकारीहरुलाई ग्रामिण विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न सहकारी मार्फत लगानी प्रर्वधनमा विशेष जोड दिइनेछ ।
घ. सहकारीहरुलाई पूँजी व्यवस्थापन, उत्पादन र बजार व्यवस्थापनसँग जोडी स्वरोजगारी तथा रोजगारीको विकास गरिनेछ ।
ङ. सहकारी क्षेत्रलाई विश्वसनीय र ग्रामीण आर्थिक विकासको महत्वपूर्ण आधार बनाइनेछ ।
च. प्रत्येक घर परिवारका सदस्यलाई सहकारीमा आबद्ध गराई व्यक्तिगत उद्यम तथा सामुहिक कृषि, व्यवसाय र उद्यमको व्यवस्था मिलाइनेछ ।
छ. सहकारी क्षेत्रको पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै व्यवसायिक कृषि तथा गैह्रकृषि उत्पादन, उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क हुने आपूर्ति श्रृखलाको विकास, पूर्वाधार निर्माण र बजारीकरणमार्फत ूस्थानीय उत्पादन, स्थानीय उपभोगू लाई प्रवर्धन गर्ने नीति लिइनेछ ।
ज. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको श्रम, शीप र अनुभवलाई स्थानीयस्तरमा परिचालन गर्न युवा स्वरोजगार सिर्जना गर्न सहकारीमार्फत प्रविधिमैत्री सामाजिक उद्यमशिलताको विकास गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ ।
झ. स्थानीय आर्थिक तथा सामाजिक विकासका लागि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, पर्यटन प्रवर्धन, फोहोरमैला व्यवस्थापन, उर्जा विकास लगायतका प्राथमिकताका क्षेत्रमा स्थानीय सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारी मोडललाई अगाडि वढाइनेछ ।
ञ. गाउँगाउँपालिका र सहकारी विचको आर्थिक साझेदारीमा कृषिमा उत्पादन सहित शहिदलखन गाउँगाउँपालिकाको विकासमा जोड दिइने छ।
ट. सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित वनाउन गाउँपालिका स्तरमा प्रभावकारी नियमन तथा प्रर्वधन गर्न स्थानीय सरकार र सहकारी अभियानवीच संयुक्त कार्यक्रमहरू संचालन गरिनेछ ।
ठ. समृद्ध नेपाल, सुखी नेपाली दिर्घकालिन लक्ष्य पूरा गर्न एवं दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न सहकारी संघ संस्थामार्फत लक्षित कार्यक्रमहरु संचालनमा प्रोत्साहन दिइनेछ ।

८. श्रम तथा रोजगारीः
क. नागरिकका रोजगारीको संवैधानिक हकलाई कार्यान्वयन गर्न रोजगारीका सम्भावनाको खोजि गरिने छ।
ख. गाउँपालिका भित्र रोजगारीका क्षेत्र विस्तारका लागि आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने गरी नीतिगत पहल गरिनेछ ।
ग. महिलाका नाममा व्यवसाय दर्ता गर्ने व्यवसायी तथा उद्यमीलाई कर छुट लगायतका प्रोत्साहन सुविधाहरु प्रदान गरिनेछ।
घ. प्राविधिक शिक्षालयहरुसँगको समन्वयमा स्वरोजगार प्रर्वर्धन गर्न आधारभूत सीप र विशिष्ट सीप सिकाइमा जोड दिइनेछ । साथै उद्यमशीलता विकास गर्न आवश्यक लगानी जुटाउन गाउँगाउँपालिका ले बैंक तथा वित्तीय संस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाहको पहल कदमी गर्नेछ ।
ङ. गाउँगाउँपालिका भित्र रहेका बेरोजगार नागरिकको अभिलेख र श्रम बजारबाट श्रमिकको मागको यथार्थ जानकारी लिन सकिने गरी श्रमिक सूचना बैंक स्थापना गरी श्रम बजार र बेरोजगार जनशक्तिको पुलको काम गरिनेछ।
च. गैह्रसरकारी संघ संस्थाहरुसंगको समन्वय र साझेदारीमा रोजगारमूलक, सीपमूलक तालिमको व्यवस्थापन गरी स्वरोजगारको अभिवृद्धि गरिने छ।

९. कृषि तथा पशुपन्छी विकासः
क. कृषिजन्य वस्तुको उत्पादन गरी गाउँपालिका लाई आत्मनिर्भर बनाउन जोड दिइने छ।
ख. कृषि क्षेत्रको वर्गिकरण गरी फलफूल, अन्नवाली, तरकारी क्षेत्रको रुपमा व्यवस्थित विकास गरिनेछ ।
ग. सिंचाईका लागि कुलो स्तरोन्नती गर्नुका साथै नहरहरुको निर्माण गरी कृषि भूमिहरुमा प्रयाप्त र व्यवस्थित सिंचाईको व्यवस्था गरिनेछ ।
घ. दीगो कृषि विकासको लागि कृषि उत्पादन वृद्धि गर्न सम्भाब्यता अध्ययन गरी सोलार लिफ्टिङ प्रविधिको प्रयोग गरी सिंचाई सुविधा उपलब्ध गराइने छ।
ङ. कृषि ज्ञान, सीप, आधुनिक प्रविधिको हस्तान्तरण गरी कृषि क्षेत्रलाई व्यवसायिक बनाइनेछ ।
च. कृषि तथा पशुपन्छी बिमालाई सबैको पहुँचमा पुर्‍याई कृषकलाई आकास्मिक रुपमा हुन सक्ने जोखिम तथा क्षतिको न्यूनिकरण गरिनेछ ।
छ. केन्द्र र प्रदेशसँग समन्वय गरी आधुनिक कृषि प्रणाली लागु गर्दै लगिनेछ ।
ज. अन्य गाउँपालिका र प्रदेशसँग समन्वय गरी उत्पादित कृषि फसललाई बजारीकरण गरिनेछ।
झ. कृषि जन्य उत्पादनको प्रशोधन तथा मूल्य श्रृङ्खला विकास गरी वजारीकरणको उचित व्यस्थापन गरिने छ।
ञ. जग्गा भाडामा लिएर खेती गरेका किसानहरुलाई जग्गा भाडा अनुदानको व्यवस्थापन गरिने छ।

१०. भूमि नीति र भूमि सम्बन्धी समास्या समाधान
क. भूमिको वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
ख. खण्डित उब्जाऊ भूमिहरुलाई चक्लाबन्दी गर्दै लगिनेछ ।
ग. गाउँपालिकामा रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत लिइनेछ र उनीहरुलाई जग्गा व्यवस्थापनको लागि संघीय सरकारका सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्यमा सार्थक पहल गरिनेछ ।

११. कृषि र उद्यम विकास
क. हाम्रो गाउँगाउँपालिका मा भएका सबै जमिनहरुको माटो परिक्षण गरी प्रारम्भमा जमिनको वर्गीकरण गरिनेछ ।
ख. कुन कुन प्रकारका खेतीवाली कहाँ-कहाँ लगाउने, कुन-कुन ठाउँम फलफूल खेती र तरकारी खेती उत्पादन गर्ने तथा पशुपालन व्यवसाय गर्ने भन्ने योजना निर्माण गरी त्यसको आधारमा पकेट, ब्लक, जोन र सुपरजोन क्षेत्रहरु घोषणा गरी कृषकलाई सेवा सुविधाहरु उपलब्ध गराइने छ ।
ग. निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिक बनाउन कृषि ज्ञान, सीप र लगानी बढाउन संघ, प्रदेश सरकार र निजी क्षेत्रसँग आवश्यक समन्वय गरिनेछ ।
घ. वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र पूँजीलाई कृषि र उद्यममा उपयोग गर्न प्रोत्साहन गर्ने नीति वनाइने छ।
ङ. सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्नेु ध्येयले कृषि क्षेत्रको विकास गरिनेछ ।

१२. बन जंगल
क. गाउँपालिका भरका वन जंगलहरुको संरक्षण र संवर्द्धन गरिनेछ ।
ख. वन जंगल संरक्षणको नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
ग. उजाड डाँडाहरुमा हरियाली कायम राख्न बोटबिरुवा रोप्ने, जडीबुटीहरु हुर्काउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याईने छ।
घ. हावापानी अनुकूलको जडिबुटी उत्पादन गरी कृषकलाई आयआर्जन गर्न प्रोत्साहित गरिने छ

१३. भाषा संस्कृतिको संरक्षण
क. गाउँपालिका भित्रका सवै जात जातिका भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा जोड दिइनेछ ।
ख. हाम्रो समुदायमा लोपोन्मुख हुन लागेका मौलिक लोककला, साहित्य र संस्कृति जोगाउन तथा संरक्षण गर्न विशेष पहल गरिनेछ ।
ग. चेपाङ्ग, माझी, दराई, वराम जस्ता लोपोन्मुख हुन लागेका समुदायको भाषिक, धार्मिक तथा सांस्कृतिक उन्नयनमा जोड दिइने छ।

१४. युवा तथा खेलकुद
क. गाउँपालिका र वडा स्तरमा खेलकुद समिति गठन गरि युवाहरुलाई शारीरिक सु-संगठनको व्यवस्था गर्दै खेलकुद प्रति आर्कषित गराइने छ।
ख. प्रत्येक वडाहरुमा खेलकुद मैदान निर्माण गर्न प्राथमिकता दिइने छ।
ग. स्थानीय क्लव तथा खेलाडीहरुलाई खेलकुद सामग्रीहरुको उपलब्ध गराउने व्यवस्था गरिने छ।
घ. युवालाई आयमूलक कार्यक्रमहरु कृषि, व्यापार, उद्योग लगायतका क्षेत्रहरुमा लगानीको वातारण तयार गरी स्वरोजगारयुक्त बनाउने योजना निर्माण गरिनेछ ।

१५. स्वास्थ्य सेवा
शहिद लखन गाउँपालिका स्तरीय पन्ध्र शैय्या क्षमताकाे आधुनिक सुविधासम्पन्न अस्पताल वडा नं. ५ तीनमानेमा निर्माण हुन गइरहेको छ । सो अस्पतालको समयमा नै निर्माण सम्पन्न गरी गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गरिनेछ । प्रत्येक वडाहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा योग्य जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवालाई सर्वसुलभ बनाइने छ र निम्नानुसारका कार्यक्रमहरुलाई अघि बढाइनेछ ।
क. सुत्केरी प्रोत्साहन भत्ता रु: ५००० (रुपैंया पाँच हजार) लाई निरन्तरता प्रदान गरी सुरक्षित मातृत्व कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिनेछ ।
ख. ७० वर्ष माथिका वृद्ध वृद्धालाई टोल वस्तीमा प्रदान गरिँदै आएको घुम्ती स्वास्थ्य सेवालाई निरन्तरता दिइनेछ ।
ग. प्रत्येक स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आएको अल्ट्रासाउण्ड मेसिनद्बारा गर्भवतीहरुको गर्भजाँच सेवालाई निरन्तरता दिइनेछ ।
घ. आँखा शिविर, पाठेघर परीक्षण, मुटु रोग जाँच, रक्तचाप जाँच जस्ता कार्यक्रमहरुलाई टोल वस्तीहरुमा घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरी सेवा प्रदान गरिनेछ ।
ङ. समय समयमा दोहोरिन र देखापर्न सक्ने महामारीबाट गाउँपालिकाबासी नागरिकको सुरक्षा र संरक्षणका लागि पूर्वाधार र जनशक्तिलाई पूर्वतयारी अवस्थामा राखिनेछ ।
च. किशोर किशोरीहरुमा देखापरेको दुर्व्यसन, मानसिक तनाव, बाल यौन दुर्व्यबहार जस्ता असामाजिक क्रियाकलापहरुलाई निरुत्साहन गर्न विशेष कार्यक्रम निर्माण गरिनेछ ।
छ. गर्भवती तथा सुत्केरी भएका महिला, वृद्ध वृद्धा र आर्थिक विपन्नता भएकाहरुलाई उपचारका लागि प्रदान गरिएको निशुल्क एम्बुलेन्स सेवालाई थप व्यवस्थित बनाइनेछ ।
ज. गाउँपालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरी शुन्य होम डेलिभरीु युक्त गाउँपालिका निर्माण गरिनेछ ।
झ. स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई अभियान कै रुपमा कार्यान्वयन गरिनेछ ।
ञ. निशुल्क आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच कायम गर्न आवश्यकता अनुसार सामुदायिक स्वास्थ्य इकाइहरु स्थापना गरिनेछ ।

१६. शहीद , वेपत्ता तथा घाइते
क. नेपालका प्रथम शहीद लखन थापा मगर र जैसिंह चुमी लगायत गाउँपालिका भरका जनयुद्धका महान् शहीदहरु तथा बेपत्ता योद्धाहरुलाई सम्मान गर्ने गरी एक शहीद स्मृति पार्क निर्माण गरिनेछ ।
ख. शहीद तथा वेपत्ता योद्धाहरुको सम्पूर्ण विवरणहरु र शालिकहरु सहितको संग्रहालय निर्माण गरिनेछ ।
ग. शहीद र बेपत्ता परिवारका छोराछोरीहरुलाई सामाजिक सुरक्षा र सामाजिक सेवा सुविधामा विशेष प्राथमिकतामा राखिनेछ ।
घ. जनयुद्ध तथा जनआन्दोलन लगायतका संघर्षका आन्दोलनमा घाइते भएकाहरुलाई उचित सम्मान गरिनेछ।
ङ. शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७८ कार्तिक २८ गतेको बैठकको निर्णयानुसार शहिद लखन थापा मगरको नेतृत्वमा भएको प्रथम जनविद्रोहको क्रममा लखनसँगै बलिदानी दिने क्रान्तिकारी योद्धाहरु जय सिंह चुमी, जुठ्या थापा मगर, जीतमान गुरुङ्ग, अछामी मगर, अजप सिंह थापा मगर र विराज थापा मगरलाई नेपालको शहिद घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरी अनुरोध गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गर्न जोड दिइनेछ।

१७. जलवायु परिवर्तन र हरित विकास कार्यक्रमः
क. जलवायु परिवर्तनको सामना र प्रकोपको जोखिम नियन्त्रण गर्न आवश्यक संरचना, जनशक्ति निर्माण र विकासमा नीतिगत पहल गरिनेछ ।
ख. विपद् व्यवस्थापन तथा पानीको स्रोतको संरक्षणका लागि वृक्षारोपण, पोखरी निर्माण जस्ता कार्यक्रमलाई जोड दिइनेछ।
ग. वातावरणीय मापदण्ड अनुरुप पानी तथा जोखिमको व्यवस्थापन योजना बनाएर मात्रै सडक निर्माण गरिनेछ।
घ. स्वच्छ ऊर्जाको खपत बढाउन विद्युतीय चुलो प्रयोगमा सहुलियत दिने व्यवस्था गरिनेछ ।
ङ. महिलाहरुको ज्ञान र सीपलाई औपचारिक अर्थतन्त्रसँग जोड्दै महिला केन्द्रित रोजगारी सिर्जना गरिनेछ।
च. रैथाने ज्ञान, कला, संस्कृति, प्रविधि, बीउ, रुखविरुवा र गाईबस्तुका प्रजातिलाई संरक्षण र प्रवर्धन गरिनेछ।
छ. स्थानीय पूर्वाधार र संरचनाहरुको निर्माण गर्न मौलिक डिजाइन र स्थानीय सामग्रीको प्रयोग गर्न प्रोत्साहन गरिनेछ।

१८. समाज कल्याण र सामाजिक न्याय
क. गाउँपालिका का विभिन्न स्थानहरुमा जेष्ठ नागरिक दिवा आश्रम निर्माण गरी जेष्ठ नागरिकहरुलाई एक्लोपनको महसुस हुन नदिने वातावरण निर्माण गरिनेछ ।
ख. शारीरिक रुपमा अपाङ्ग तथा असक्त नागरिकहरुलाई काम घर घरमै पुगेर परिचयपत्र वितरणको काम गरिनेछ ।
ग. ६० वर्ष उमेर पुगेका एकल पुरुष (विदुर) हरुलाई जीवन निर्वाहका लागि वार्षिक रु:१०००० (दश हजार) अनुदानको व्यवस्था गरिनेछ ।
घ. लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको संविधान प्रदत्त अधिकार कार्यान्वयनको लागि विशेष नीतिगत पहल गरिनेछ।
ङ. गाउँपालिकाको प्रत्येक वडाहरुमा शिशुस्याहार केन्द्रहरु सञ्चालनका लागि जोड गरिने छ।
च. समाजमा महिला, दलित, उपेक्षित तथा उत्पीडित समुदायहरुलाई समान व्यवहार गर्ने वातावरण निर्माण गरिनेछ। विभेद र असमानताको अवस्थालाई अन्त्य गरिनेछ ।

१९. खानेपानी व्यवस्थापन र सरसफाइ
क. गाउँपालिका भित्रका हरेक वस्तीमा स्वच्छ र सफा खानेपानीको व्यावस्था गरिनेछ।
ख. एक घर एक धाराको सोचलाई मूर्तरुप दिन थप प्राविधिक अध्ययनको आधारमा लगानी बढाइनेछ ।
ग. सार्वजनिक स्थानमा शौचालय निर्माणको कार्यलाई निरन्तरता दिइनेछ ।
घ. शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन र ढल निकासलाई व्यवस्थित गरी स्वच्छ र सुन्दर शहर निर्माण गरिनेछ ।
ङ. खानेपानीका प्राकृतिक श्रोतहरुको संरक्षणमा विशेष पहल गरिनेछ ।
च. जलवायु परिवर्तन सिर्जित चुनौति र जोखिमको पूर्वानुमान गर्ने संयन्त्रको विकास गरी खानेपानीका वैकल्पिक श्रोतहरुको पहिचान र व्यवस्थापन गरिनेछ ।
“शहिद लखन गाउँगाउँपालिका मा माओवादी केन्द्रको शान, उत्पीडित जाति, वर्ग र समुदायको सम्वृद्धि र पहिचान”
धन्यवाद !

याे पार्टीकाे चुनाव चिन्ह तल भएजस्ताे आकृतिमा देखिएकाे छ । 

 

अन्य पार्टीकाे घाेषणापत्र प्राप्त भएपछि प्रकाशन गरिनेछ । स.