गणतन्त्र दिवसका अवसरमा भीमसेन थापा गाउँपालिका भित्रका सबै नागरिकहरुकाे दुर्घटना विमा

-


     मनासलु     
     जेठ १६ गते २०८० मा प्रकाशित


गाेरखा। जिल्लाकाे भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका सवै नागरिकहरुको  दुर्घटना विमा निशुल्क गरेकाे  छ । गाउँपालिकाले १६ औं गणतन्त्र दिवसको अबसरमा पालिका भित्रका १६ हजार ९ सय ८६ जना नागरिकहरुको निशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिए ।

पालिकाले भित्रका सवै नागरिकहरुको कुल १२ लाख १६ हजार ६४२ रुपैया २५ पैसामा सामुहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौता अनुसार सामुहिक दुर्घटना बीमाका लागि बिशेष छुटमा ७१ रुपैया ६२ पैसा र टिकट बापत प्रति बीमा पोलिसी २० रुपैया लागत परेको भएको अध्यक्ष बन्जराले बताए ।

राष्ट्रिय जनगणना २०७८को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सवै नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरेको उनले जानकारी दिए । ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिका बिच समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ, अध्यक्ष बन्जराले भन्नुभयो, ‘सम्झौता संगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’

गाउँपालिकाले गरेको सम्झौता अनुसार अब पालिका भित्रका कुनै नागरिकहरुको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसी अनुसारको उपचार खर्च प्राप्त गर्नेछन् । त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनैपनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई ५० हजार रुपैया उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।

बीमा कम्पनी र गाउँपालिका बिच भएको सम्झौता आगामी २०८१ साल जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सम्झौता अनुसार गाउँपालिकाबासी सवै नागरिकहरुले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अंगभंग, औषधी उपचार आदि सुविधा प्राप्त गर्नेछन् ।

बीमाका सर्तहरु सामुहिक दुर्घटना बीमा लेख बमोजिमको हुने पनि सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमा लेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।