गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

शुक्रबार, माघ १२, २०८०

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला क्लस्टरमा केन्द्रकी मनरुपा शर्मा (विमला), अपांगता र अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरण बाबु श्रेष्ठ विजयी भएका छन् ।

उनले ३ हजार ६६० मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी निकटम प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गोरखाकी सम्झना देवकोटाले २ हजार ५५३ र राप्रपाकी गौमाया श्रेष्ठले १०६ मत प्राप्त गरिन्।

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए। उनलाई स्थानीय तहतर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए।

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८२७ हुन आउँछ। मनरुपालाई गठबन्धनका ५ जना स्थानीय तहका जनप्रतिनिधिले मत हालेनन्। यो मत एमालेका उम्मेदवारलाई गएको छ।

अपाङ्ग-अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियारले ३ हजार ७७४ मतभार प्राप्त गर्दा एमालेका हेमन्त शेरचनले २ हजार ४५८ मतभार प्राप्त गरे।खुलातर्फ कांग्रेसका किरण बाबु श्रेष्ठ ३ हजार ८ सय ८ मतभारसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत प्राप्त गरे।

राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले १०६ मत प्राप्त गरे।गण्डकीमा २२९ मत खसेको थियो। १ जना प्रदेश सभा सदस्य र १ जना स्थानीय तहका प्रमुख, उपप्रखुले हालेको मत बदर भएको छ।

स्थानीय तहतर्फ १ मत खसेन। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए।

उनलाई पनि गठबन्धनमा रहेका एकजनाले मत दिएनन् । गण्डकीमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाबाट १ सय ७० जना मतदाता थिए।